सांसाद इन्दिरा रानाले उपसभामुख पदको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्नुहुन्छ : साेबिता गाैतम
समस्या मात्र औंल्याएर नबसी सडकमा आएर बालबालिकाको उज्यालो भविष्यका लागि ठुलो योगदान दिने इन्दिरा उपसभामुख पदका लागि योग्य भएको उनले बताइन्।
काठमाडौं, माघ ७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले उपसभामुख पदका उम्मेदवार रहेकी इन्दिरा राना मगरलाई निर्वाचित गर्न सदनसमक्ष आग्रह गरेकी छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा गौतमले इन्दिरालाई मतदान गरेर निर्वाचित गर्न सांसदहरूसमक्ष अपिल गरिन्।कारागारमा भएकाहरूका बालबालिकाको लानपालन र शिक्षादिक्षाका योगदान दिएर लोकप्रियता कमाएकी इन्दिरा राजनीति र संसदमा नयाँ व्यक्ति नभएको बताइन्। सांसद इन्दिरा उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताइन्।
समस्या मात्र औंल्याएर नबसी सडकमा आएर बालबालिकाको उज्यालो भविष्यका लागि ठुलो योगदान दिने इन्दिरा उपसभामुख पदका लागि योग्य भएको उनले बताइन्। लोकतन्त्रको रक्षाका लागि इन्दिरालाई जिताउन उनले सदनसमक्ष आग्रह गरिन्।
सांसद इन्दिराले उपसभामुख पदको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने विश्वास उनले दिलाइन् ।
उनले कांग्रेसका तर्फबाट उपसभामुख उम्मेदवार रहेकी मुक्ताकुमारी यादवलाई पनि शुभकामना दिइन्। सोही क्रममा उनले देश गम्भीर आर्थिक संकटमा परेको र देशमा भ्रष्टाचार मौलाएकोप्रति चिन्ता व्यक्त गरिन्। उनले सम्भावनाको खोजी नगरिनु पनि भ्रष्टाचार भएको उल्लेख गर्दै सम्भावना बोबेका कैयौं युवा बिदेसिन बाध्य भएको बताइन्।
मुलुकमा न्याय, स्वतन्त्रता र समानता स्थापित हुन नसकेको उनले बताइन्। उनले लोकतन्त्रको रक्षा, सुशासन, विकासका लागि फुटेर होइन जुटेर लाग्नुपर्नेमा जोड दिइन्।
अब पुराना चिन्तन छाडेर नयाँ चिन्तनका साथ अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याइन्। प्रविधिसँगै प्रवृत्ति पनि बदल्नुपर्ने उनले बताइन्। सामाजिक सांस्कृतिक रूपान्तरणका लागि नयाँ सोचका साथ रास्वपा अघि बढिरहेको जानकारी उनले दिइन्।
कसैलाई नहोच्याई र नरुझ्याई पक्ष–प्रतिपक्षबीच संसदमा हुने सार्थक छलफल र बहसले लोकतन्त्र बलियो हुने उनले बताइन्। उनले लोकतान्त्रिक संस्थाहरूलाई सुधार हुन नसकेको पनि बताइन्।
‘संविधानको भावनालाई आत्मसात गरे मात्र लोकतन्त्र बलियो हुन्छ,’ उनले भनिन्, ‘लोकतन्त्र भनेको सहमति मात्र नभएर विमति पनि हो।’ लोकतन्त्रको सुदृढीकरणका लागि र संविधानको रक्षाका लागि संसदलाई अंकगणितको मात्र खेल बनाउन नहुने पनि उनले स्पष्ट पारिन्।











