उपसभामुखको निर्वाचन आज, रास्वपाकी रानामगर र कांग्रेसकी यादव प्रतिस्पर्धामा
उपसभामुखका लागि सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन्।
काठमाडौं, माघ ७ : संघीय संसदको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ। शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्ने छ।
उपसभामुखका लागि सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर उम्मेदवार छिन् । यस्तै, कांग्रेसकी मुक्ताकुमारी यादव पनि उपसभामुखको उम्मेदवार बनेकी छिन्।
रानामगर र यादव दुवै समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका हुन्।
रानामगरलाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।
यादवलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् ।
प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो।
नेपाली कांग्रेसले सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र उनले इन्दिरा रानामगरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदानसमेत गर्न ह्विप जारी गरेका छन् ।











