प्रदेश १ का मन्त्रीहरुले पाए मन्त्रालय, कस्ले कुन मन्त्रालय सम्हाल्ने ?
शुक्रबार मन्त्रिपरिषद्को बैठकले ४ वटा मन्त्रालय खारेज गरेर ९ वटा कायम गर्दै कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन् ।
काठमाडाैं, माघ ६ : प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार साँझ मन्त्रीहरूको जिम्मेवारी तोकेका छन्। शुक्रबार मन्त्रिपरिषद्को बैठकले ४ वटा मन्त्रालय खारेज गरेर ९ वटा कायम गर्दै कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन् ।
जस अनुसार मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैंसँग राखेका छन्।
एमालेबाट मन्त्री बनेका ताप्लेजुङका तिलकुमार मेन्याङबोले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् भने माओवादीबाट मन्त्री बनेका तेह्रथुमका दुर्गाप्रसाद चापागाइँले सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
राप्रपाबाट मन्त्री भएका झापाका भक्तिप्रसाद सिटौलाले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाउँदा माओवादीबाट मन्त्री बनेका मोरङका जीवन आचार्यले पर्यटन वन तथा वातावरण मन्त्रालय सम्हाल्ने भएका छन्।
एमालेबाट मन्त्री बनेका सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउँदा जसपाबाट मन्त्री बनेकी ताप्लेजुङकी निर्मला लिम्बूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।











