सुस्मिताकाे हत्यामा संलग्न ससुरासहित चार जनालाई जन्मकैदकाे फैसला

काठमाडाैं, माघ ६ : हेटौंडा उपमहानगरपालिका-४ की २४ वर्षीया सुस्मिता केसीको परिवारले हत्या गरेकाे ठहर गर्दै जिल्ला अदालत मकवापुरले जन्म कैदकाे फैसला सुनाएकाे छ।
जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले सुस्मिताकाे हत्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको हाे ।
५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको छ ।
सुस्मिताको २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित घरमा बीभत्स ढंगले हत्या गरिएको थियो । भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउकोमा ससुराले पछाडिबाट काठले हिर्काएको प्रहरी अनुसन्धानमा खुलेको थियो । सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले टाउकोमा हिर्काएकी थिइन् ।
भान्सामा बीभत्स ढंगले हत्या गरिएको अवस्थामा सुस्मिताको शव फेला परेको थियो । परिवारले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेको थियो ।
कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी सुस्मिताको पति रुपेन्द्र थापाको २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनीहरुको विवाह २०७६ वैशाख १८ गते भएको थियो । पतिको दुर्घटनामा मृत्यु भएपछि उक्त बिमा रकम हात पार्नका लागि हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।











