कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत
प्रदेशसभाका ४० सदस्यमध्ये मुख्यमन्त्री शर्मालाई २५ सदस्यले विश्वासको मत दिएका छन् ।
काठमाडौं, माघ ६ : कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री शर्माले विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रदेशसभाका ४० सदस्यमध्ये मुख्यमन्त्री शर्मालाई २५ सदस्यले विश्वासको मत दिएका छन् । उनलाई माओवादी केन्द्रका १३, एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादीका एकएक सांसद र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।
१४ सांसद रहेको नेपाली कांग्रेसले भने शर्माको प्रस्तावको विपक्षमा मतदान गरी प्रतिपक्षमा बसेको छ ।
रुकुम पश्चिमको प्रदेशसभा २ बाट निर्वाचित शर्मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत हुन् । उनी पुस २७ गते कर्णालीको मुख्यमन्त्री नियुक्त भएका थिए । यहाँ एमाले र माओवादी केन्द्रले पालैपालो सरकार चलाउने सहमति भएको छ । सहमति कार्यान्वयन भए शर्मा साढे २ वर्ष मुख्यमन्त्री रहनेछन् ।











