Kathmandu Press

यशोदा न्यौपाने : प्लाटुन कमाण्डरदेखि कर्णाली प्रदेशसभाको उपसभामुखसम्म 

यशोदा न्यौपाने : प्लाटुन कमाण्डरदेखि कर्णाली प्रदेशसभाको उपसभामुखसम्म 

कर्णाली, माघ ६ : किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोज्नुभएको थियो, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानले ।

विसं २०४० असोज ३ गते आमा धनरुपा र बुवा धनन्जय न्यौपानेका  तीन दाजुभाइका माझ एक छोरीका रूपमा तातोपानी गाउँपलालिका–४ जुम्ला (साविकको हाँकु गाविसमा)मा उनी जन्मिएकी हुन् । गरिबी, अभाव, रोग, अशिक्षा र उत्पीडन झेलिरहेको समाजमा जन्मिएकी यशोदालाई त्यही समाजको विद्यमान अवस्थाले २०५५÷५६ देखि राजनीतिप्रतिको चासो बढ्दै गयो ।

तत्कालीन समयमा नेकपा माओवादीले सशस्त्र बिद्रोह थाल्यो । यशोदा २०५७ सालमा माओवादीको पूर्णकालीन सदस्य हुनुभयो । पार्टीमा जोडिँदै गर्दा कलाकार हुँदै उनी अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनको एरिया उपाध्यक्ष र पछि महिलाको एरिया अध्यक्ष बनिन् । त्यसको एक वर्षपछि २०५८ मा एरिया सेक्रेटरी, त्यसको अन्त्यतिर पार्टीको जिल्ला कमिटी सदस्य, महिला सङ्गठनको जिल्ला कमिटी सचिव हुँदै अखिल नेपाल किसान सङ्गठन (क्रान्तिकारी) क्षेत्रीय ब्यूरो सदस्य बनिन्। विसं २०५९ मा माओवादीद्वारा गठित जनमुक्ति सेनाको प्लाटुन कमाण्डर बनिन्।

पार्टीको क्षेत्रीय ब्यूरो सदस्य हुँदै यशोदा २०७८ मा पार्टीको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा हाल कालीकोटको सहइन्चार्जका रूपमा काम गर्दै आएकी छन्। 

नेकपा माओवादीको पूर्णकालीन सदस्य भएयता यशोदा पटक पटक  युद्ध मोर्चामा सहभागी हुनुभएको छ । अछामको मङ्गलसेन आक्रमणपछि जुम्ला घर फर्कँदै गर्दा कालीकोटको सेराबाडामा उनी सेनाको घेरामा परिन्। कालीकोटकै मुग्राहमा भएको भिडन्तमा पनि उनी बाँचिन्। विसं २०५७ मा यशोदाले कालिकोटको खाडाचक्र नगरपालिका–८ का लक्ष्मीप्रसाद चौलागाईँसँग विवाह गरिन्। उनकी एक छोरी छन्। हाल कक्षा १२ को अध्ययनलाई निरन्तरता दिइरहेकी यशोदा माओवादीभित्र जुझारु, इमान्दार, कर्मशील र व्यवस्थापकीय क्षमता भएकी महिलाका रुपमा चिनिन्छिन्। 

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा यशोदा नेकपा (माओवादी केन्द्र)बाट कालीकोटबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्। यही माघ ४ गते बुधबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकबाट प्रदेशसभामा कायम रहेको ४० सदस्य सङ्ख्यामा ३८ उपस्थित हुँदा २४ मत ल्याएर बहुमतले उनी उपसभामुखमा निर्वाचित भएकी छिन्। माघ १ गते सभामुखको निर्वाचन सम्पन्न गरेको प्रदेशसभा बैठकले माघ ४ गते उपसभामुख चयन गरेको हो । सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित भइन्। 

प्रकाशित मिति: १०:०१ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्