प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित
घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मत १६७ खसेको छ भने विपक्षमा मत १०० खसेको छ। मत दिन्न भन्नेमा १ मत खसेको छ।
काठमाडौं, माघ ५ : प्रतिनिधसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। प्रतिनिधसभाको आज (बिहीबार) बसेको बैठकले घिमिरेलाई निर्वाचित गरेको हो।
घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा अर्थात 'हुन्छ' भन्नेमा १६७ मत खसेको छ भने विपक्षमा अर्थात 'हुन्न' भन्नेमा १०० मत खसेको छ। तटस्थ अर्थात 'मत दिन्न' भन्नेमा १ मत खसेको छ।
मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मत विभाजनको नतिजाबारे जानकारी दिँदै घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गरे। जबराले बैठकमा उपस्थित प्रतिनिधिसभाका २७५ सांसदमध्ये २६८ रहेको र बहुमत रहेकाले सभामुख घिमरेको निर्वाचित भएको घोषणा गरे।
सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले मत दिए। स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पक्षमा मतदान गरे।
त्यसैगरी सभामुख उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा निर्णयार्थ प्रस्तुत गर्नुनपर्ने जानकारी गराउँदै सभामुखमा निर्वाचित सभामुख घिमिरेलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिए।
न्याैपानेलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए।
जबराले यही माघ ७ गते शनिबार दिउँसो १ प्रतिनिधिसभाको अर्को बैठक हुने र सोही दिन नै उपसभामुखको निर्वाचन हुने भएकाले सूचना आजै प्रकाशित हुने भएकाले संसद सचिवालयलाई जानकारी दिए।
एमाले सांसद सुवास नेम्वाङले घिमिरेलाई घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सदनमा राखेका थिए। घिमिरेलाई माओवादी केन्द्रका प्रमुख सचेतमक हितराज पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सभापति रवि लामिछानेले समर्थन गरेका थिए।
त्यसैगरी नेपाली कांग्रेसबाट सभामुख उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गरियोस् भनी कांग्रेस सांसद विश्वप्रकाश शर्माले प्रस्ताव राखेका थिए। उनको समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला रहेका थिए।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ। प्रतिनिधिसभाको पहिलो बैठक गत पुस २५ गते बसेको थियो। नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ।
काे हुन् घिमिरे?
२०१३ सालमा ताप्लेजुङमा जन्मेका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए। उनी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा झापा २ बाट निर्वाचित भएका थिए। उनले विद्यार्थी संठनबाट राजनीति सुरु गरेका थिए।
उनी २०४९ सालमा एमालेको केन्द्रीय सदस्य थिए। घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए। हाल उनी एमालेको स्थायी समिति सदस्य र प्रदेश नं १ को इञ्चार्ज हुन्।











