‘छातीमा मुड्की हानेर भए पनि जनमोर्चाले कांग्रेस उम्मेदवार ईश्वरीलाई सभामुखमा समर्थन गर्छ’
सभामुख चयनको प्रयोजनका लागि बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षमा बसेर पनि कांग्रेसले सरकारलाई समर्थन गरेकोमा असन्तुष्टि जनाउँदै विकल्प नभएकाले न्यौपानेलाई मत दिने बताए।
काठमाडौं, माघ ५ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने बताएका छन्।
सभामुख चयनको प्रयोजनका लागि बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षमा बसेर पनि कांग्रेसले सरकारलाई समर्थन गरेकोमा असन्तुष्टि जनाउँदै विकल्प नभएकाले न्यौपानेलाई मत दिने बताए। ‘जे भए पनि जस्तो भए पनि छातीमा मुड्कीले हानेर ईश्वरीलाई समर्थन गर्छौं,’ उनले भने।
संसदको तस्बिर पहिलाभन्दा अहिले डरलाग्दो रहेको प्रतिक्रिया पनि उनले दिएका छन्। सरकार बन्नुअघि चर्काचर्का कुरा गर्ने पार्टीबाट मन्त्री बनेकाहरूको नराम्रो कुरा बाहिर आइरहेको भन्दै उनले अहिलेको संसद साेचेजस्ताे नभएको बताए।
सत्ताका लागि सिद्धान्त, इमान जमान केही नहुने, जनतासँग कबोल गरिएका कुरा पनि केही नहुने, सत्ता हात पार्न जोसँग पनि शरण पर्ने, सामेल हुने अवस्थाले लोकतन्त्र, गणतन्त्र, संविधान सबै धरापमा परेको उनले बताए। यस्तो मौका छोपेर शक्ति केन्द्रहरूले आफूले चाहेको खेल नेपालमा खेल्न सक्ने आकलन उनले गरे।
राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्रका विरुद्ध लडेर प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्न नसक्दा अहिलेको परिस्थिति आएको उनले बताए। पुराना नेताहरू बेकम्मा हुँदा नयाँनयाँ सांसद आएको र तिनीहरूको पनि तस्बिर छर्लङङ हुन थालेको उनले बताए।
सांसदहरूले विगतका बारेका जेजे भने पनि अहिले संसद र सरकार बनेको प्रक्रिया तथा विगत र वर्तमानमा सत्तामा गएकाहरूको स्थिति हेर्दा झन्झन् अप्ठेरो परिस्थिति सिर्जना भएको उनको भनाइ थियो।
मुलुकमा प्रतिगमन सच्चिएको भन्ने मान्यता जनमोर्चाले नराखेको उनले बताए। उनले आफूलाई प्रतिपक्ष भन्दै कांग्रेसले सरकारलाई समर्थन गरेकोप्रति पनि असन्तुष्टि प्रकट गरे। तर सभामुखमा मतदानका लागि अर्को विकल्प नभएकाले कांग्रेसकै उम्मेदवारलाई मत दिने उनले बताए।











