सिके राउतले रोष्ट्रममै गरे मौनधारण, कांग्रेस उठ्यो, प्रधानमन्त्री उठेनन्
मधेश आन्दोलनको शहीदप्रति सम्मान प्रकट गर्न सिके राउतले रोष्ट्रममै मौनधारणा गर्दा नेपाली कांग्रेस लगायतका दलका सांसदहरु पनि उठेका थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहाल भने उठेनन्।
काठमाडौं, माघ ५ : राष्ट्रिय जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले रोष्ट्रममै मौनधारण गरेका छन्।
बिहीबार सभामुखको निर्वाचनका लागि संसदमा भएको छलफलमा बोल्ने क्रममा अध्यक्ष राउतले रोष्ट्रममै मौनधारण गरेका हुन् ।
उनले माघ ५ गते बलिदानी दिवस मनाइने र मधेश आन्दोलनका शहीदहरुलाई सम्झिने दिन रहेको बताउँदै रोष्ट्रमबाट एक मिनेट मौन धारण गरेका हुन् । उनले मधेश आन्दोलनका शहीदहरुको सम्मानका लागि अन्य दलका सांसदहरुलाइ पनि उठ्न आग्रह गरेका थिए ।
उनले रोष्ट्रममै मौनधारण गरेपछि नेपाली कांग्रेसका सांसदले पनि उठेर सम्मान व्यक्त गरेका थिए। सुरुवातमा आनाकानी गरेजस्तो देखिएपनि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा उठेपछि उनका पछिल्तिर बसेको सांसदहरुले पनि उठेर सम्मान व्यक्त गरका थिए ।
तर, प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ भने उठेनन् । दस वर्षे जनयुद्धको नेतृत्व गरेका, मधेश आन्दोलन र सहीदको विषयमा चर्को कुरा गरेपनि आज तिनै शहीदहरुको सम्मान गर्न प्रधानमन्त्री आफ्नो कुर्सीबाट टसकामस भएनन् ।
प्रधानमन्त्रीसँगै बसेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भने उठेर मौनधारण गरेका थिए । मधेशवादी दलका सांसद र अन्य केही सांसदहरुले पनि मौनधारण गरेका थिए ।











