राजनीतिक दलहरूमा संस्कार र अभ्यासमा परिवर्तनको खाँचो देखिन्छ : मनीष झा
एमालेबाट सभामुखका लागि उम्मेदवार रहेका देवराज घिमिरेले जितपछि सदनको संस्कार र व्यवहारमा परिवर्तन गर्ने अपेक्षा रास्वपाले राखेको सांसद झाको भनाइ थियो।
काठमाडौं, माघ ५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले लोकतन्त्रको मर्मलाई व्यवहारमा रूपान्तरण गर्न राजनीतिक दलहरूमा संस्कार र अभ्यासमा परिवर्तनको खाँचो औंल्याएका छन्।
सभामुख चयनको प्रयोजनका लागि बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले राजनीति र लोकतन्त्रको संस्कार सदनमा सांसदहरू कसरी प्रस्तुत हुन्छन् भन्नेबाट पनि थाहा हुने उनको भनाइ थियो।
सभामुख निर्वाचनमा कांग्रेसले जित सुनिश्चित नदेखेर समावेशिताको कुरा उठाएको आरोप पनि उनले लगाए। कांग्रेसप्रति संकेत गर्दै उनले विजय सुनिश्चित हुँदा आफन्त खोज्ने र त्यस्तो अवस्था नहुँदा समावेशिताको कुरा उठाउने गरिएको बताए।
एमालेबाट सभामुखका लागि उम्मेदवार रहेका देवराज घिमिरेले जितपछि सदनको संस्कार र व्यवहारमा परिवर्तन गर्ने अपेक्षा रास्वपाले राखेको सांसद झाको भनाइ थियो।
पहिलेको अभ्यासमा धेरै सुधारको आवश्यकता रहेको उल्लेख गर्दै उनले घिमिरेको नेतृत्वबाट गलत अभ्यासमा सुधार आउने विश्वास पनि व्यक्त गरे।











