राष्ट्रिय सहमतिको औचित्य पुष्टि गर्न सिके राउतको चुनौती
राष्ट्रिय सहमति के का लागि ? पदका लागि कि देश संकटमा परेको बेला राष्ट्रिय सहमति ? : सिके राउत
काठमाडौं, माघ ५ : जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले दलहरुलाई राष्ट्रिय सहमतिको औचित्य पुष्टि गर्न चुनौती दिएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राउतले देश संकटमा परेको बेलामा राष्ट्रिय सहमति खोज्नुपर्ने सट्टा राष्ट्रपति, प्रधानमन्त्री र सभामुख जस्ता ठूला पदमा मात्रै राष्ट्रिय सहमति खोजिएको भन्दै असन्तुष्टि पोखेका हुन् ।
‘राष्ट्रिय सहमति के का लागि ? पदका लागि कि देश संकटमा परेको बेला राष्ट्रिय सहमति ?’ अध्यक्ष राउतले भने, ‘प्रधानमन्त्ती, सभामुख राष्ट्रपतिको पद होस् त्यतिबेलाको लागि मात्रै राष्ट्रिय सहमतिको कुरा आउँछ कि देश संकटमा परेको बेलामा पनि राष्ट्रिय सहमतिको खोजी गर्नुपर्ने हो ?’
उनले अगाडि भने, ‘तराईमा शीतलहरले मान्छे मरिरहेका छन् । किसानले मलखात पाएका छैनन् । देशको अर्थतन्त्र डुब्ने अवस्थामा छ । त्यसको लागि चाहीँ राष्ट्रिय सहमतिको कुरा किन गरिँदैन ?’
अध्यक्ष राउतले मधेशी र थारु समुदायको प्रतिनिधित्व गर्ने दलहरुलाई बाहिर राखेर राष्ट्रिय सहमतिको कुरा गर्नु बेकार रहेको पनि बताए । ‘मधेशी र थारु समुदाय जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्तिलाई भित्तामा धकेलेर मधेशी र थारुविहीन राष्ट्रिय सहमतिको कुरा गर्नुभएको हो कि ?’ उनले प्रश्न गरे ।
दलभन्दा माथि उठेर सभामुखको निर्वाचनमा मतदान गर्न आग्रह गर्ने सांसदहरुलाई अध्यक्ष राउतले निश्चित वर्ग, समुदाय र जातिको मुखौटाभन्दा माथि उठ्न चुनौती दिए । ‘अहिलेसम्म पनि जुन प्रकारको नश्लवादी चिन्तन यो सरकार र संसदले देखाइरहेको छ । त्यसलाई तपाईँहरुको पार्टीले पनि देखाइरहेको छ । त्यसलाई स्पष्ट पार्नुस त्यसपछि मतको कुरा गरौंला,’ उनले भने ।











