Kathmandu Press

प्रतिनिधिसभा पुनः विघटन हुन सक्ने आशंका पैदा भएकाे छ : निधि

सरकारको समर्थन गर्ने दलका नेताले नीति बनाउँछ सरकारले लागु गर्दछ भनी  दिइएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले कसैले पनि कार्यपालिकाभन्दा माथि रहेर निर्देशन दिन नमिल्ने बताए।
प्रतिनिधिसभा पुनः विघटन हुन सक्ने आशंका पैदा भएकाे छ : निधि

काठमाडाैं, माघ ५ : नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनः विघटन हुन सक्ने भन्दै आशंका व्यक्त गरेका छन्।

सभामुख चयन गर्ने प्रयोजनका लागि प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा कांग्रेसका तर्फबाट उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौजपानेको पक्षमा मतदान गर्न आग्रह गर्ने क्रममा उनले विगतका घटना र सरकारलाई समर्थन गर्ने दलका नेताहरूको अभिव्यक्तिले प्रतिनिधिसभा पुनः विघटन हुन सक्ने आशंका जन्माएको स्पष्ट पारेका हुन्।  

सरकारको समर्थन गर्ने दलका नेताले नीति बनाउँछ सरकारले लागु गर्दछ भनी  दिइएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले कसैले पनि कार्यपालिकाभन्दा माथि रहेर निर्देशन दिन नमिल्ने बताए।

नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नेता निधिले संसदको विघटन प्रतिगमन होइन भनेर अभिव्यक्ति आइरहँदा लोकतन्त्र र संविधान अझै पनि खतरामुक्त नरहेको संकेत मिल्ने बताए। अहिले मुलुकमा राजनीतिक स्थिरताको जरुरत रहेको बताउँदै उनले संविधानको संरक्षण र सफल कार्यन्वयनमा सबै एकताबद्ध भएर जुट्नुपर्नेमा जोड दिए। भारत, बेलायत र नेपालको संसदीय प्रणालीमा केही न केही भिन्नता रहेको उल्लेख गर्दै उनले अरुसँग तुलना गरेर हेर्न नमिल्ने बताए।

विगतका घटनाले संविधान र लोकतन्त्रमाथि खतरा आइरहेको अवस्थामा विपक्षीले समर्थन गर्दा खुसी हुनुपर्ने सत्तारूढ दलहरूमा चिन्ता व्यक्त हुन थाल्नु आश्चर्यजनक घटना भएको उनले बताए। शब्दभन्दा पनि आशय महत्वपूर्ण हुने उल्लेख गर्दै सत्तारूढ दलका नेताहरूको बोलीले सबैलाई झस्काएको उनको भनाइ थियो।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७२ मत पाउनु भनेको अभूतपूर्व र ऐतिहासिक रहेको उनले बताए। दाहालले विश्वासको मत दिनेलाई समेटेर लैजान सक्नुपर्नेमा नेता निधिले जोड दिए। समर्थन गर्ने दलहरूलाई प्रतिशोधको भावनाले भन्दा पनि सहकर्मी र सहयात्रीको भावना राखेर हेर्नुपर्ने उनको भनाइ थियो।

संविधानसभाले पूर्ण आयु प्राप्त गर्न सकोस् भन्दै उनले अनुभवी, योग्य, सक्षम र सक्रिय न्यौपानेलाई सभामुखमा जिताए लोकतन्त्र र संविधानमाथि कुनै पनि खतरा नआउने धारणा उनले व्यक्त गरे।

प्रकाशित मिति: १३:०२ बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्