हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक कार्ययोजना बनाइनेछ : मन्त्री किराती
बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री किरातीले हवाई सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउन आगामी दिनमा आवश्यक कार्ययोजना बनाइने बताएका हुन्।
काठमाडाैं, माघ ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक कार्ययोजना बनाइने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री किरातीले हवाई सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउन आगामी दिनमा आवश्यक कार्ययोजना बनाइने बताएका हुन्। उनले हवाई सुरक्षालाई उच्च प्राथमिकता दिन र दुर्घटना दोहरिन नदिनका लागि पद बहालीपश्चात नागरिक उड्ययन प्राधिकरणलाई आवश्यक निर्देशन दिएको जिकिर गरे।
मन्त्री किरातीले यती एयरलाईन्सको दुर्घटनापश्चात तीव्र रुपमा उद्धारका काम भएको र आफन्तजनलाई आवश्यक सूचना दिने काम भएको बताए। उनले दुर्घटनामा ज्यान गुमाएकाहरुको पोखरा मेडिकल कलेज र शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको र शव बुझाउने क्रम जारी रहेको जानकारी दिए। दुर्घटनापश्चात जाँच गर्न मन्त्रिपरिषद्को निर्णयअनुसार छानबिन समिति गठन भएको र समितिलाई स्वतन्त्रपूर्वक काम गर्न सहयोग गर्ने उनले बताए।
त्यसअघि बैठकमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले दुर्घटनाका विषयमा जानकारी गराउन माग गरेका थिए। उनले संसदको कार्यसूचीलाई स्थगन वा सारेर यस बिषयमा सिंगो मुलुक र अन्तराष्ट्रिय जगतलाई जानकारी गराउनुपर्ने बताए। सरकार जनताको पीर मर्का र समस्या प्रति उदासीन हुन नसक्ने उनको भनाइ छ।
उनले दुर्घटनमा ज्यान गुमाएकाहरुप्रति समवेदना व्यक्त गर्दै शव बुझाउन ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गरे। उनले दुर्घटनाले पर्यटन क्षेत्रमा पनि नराम्ररी असर पारेको बताए।











