नेता पुनको स्वास्थ्यावस्था बुझ्न पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री किराँती सुमेरु अस्पतालमा

काठमाडाैं, माघ ४ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले आज ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका हुन। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पनि आज उपमहासचिव पुनलाई भेटगरी स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन।
माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारमा गत शनिबारदेखि सुमेरु अस्पतालमा भर्ना भएका थिए। गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिन पहिले रोल्पा पुगेका थिए।
रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकप्टरबाट अस्पताल ल्याइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनले केही समय पहिले चीनको एक अस्पतालमा उपचार गराएका थिए। जन्डिसबाट पीडित पुनको स्वास्थ्यावस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौँ ल्याइएको थियो ।











