आफूले पाउने इसा अवार्ड जीवनभरिको तपस्याको परिणाम : डा. रूइत
पुरस्कारको राशि १० लाख डलर (करिब १३ कराेड रूपैयाँ) रहेको छ।
काठमाडाैं, माघ ४ : वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले सम्पूर्ण जीवनको तपस्याको परिणाम आफूले इसा अवार्ड पाउन लागेको भन्दै खुसी व्यक्त गरेका छन्।
बुधबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै डा. रुइतले इसा अवार्ड अहिलेसम्मको सबैभन्दा ठुलो पुरस्कार भएको र यो सम्पूर्ण जीवनको तपस्याको परिणाम भएको बताएका हुन्। जिन्दगीमा धेरै अवरोधहरु सहेको र धरै सान्त्वना तथा पुरस्कार पनि पाएको भन्दै सबै कुराले आफूलाई अघि बढाउन प्रेरित गर्ने उनले बताए।
उनले पुरस्कारले नेपालको आत्मसम्मानलाई पनि निकै माथि उठाएको जिकिर गरे। उनले नेपालको पहुँच नपुगेको स्थानमा पनि सेवा पुराउन प्रतिबद्ध भएर लागिरहेको जिकिर गरे। त्यस्तै उनले सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने भन्दै उक्त पद आफ्ना लागि नभएको र आफूले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको तर्क गरे।
एसियाको नोबेल मानिने म्यागासेसे पुरस्कार पाएका विश्वविख्यात आँखा सर्जन डा. रूइतलाई बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्ड दिन लागिएको हो। पुरस्कारको राशि १० लाख डलर (करिब १३ कराेड रूपैयाँ) रहेको छ।











