सभामुखमा न्यौपानेको पक्षमा मतदान गर्न कांग्रेसको ह्विप
कांग्रेस संसदीय दलको कार्यलयका अधिकृत विजयेन्द्र वीर आलेले आज (बुधबार) सूचना जारी गरेर कांग्रेसका तर्फबाट सभामुख पदकी उम्मेदवार न्यौपानेकाे पक्षमा र देवराज घिमिरेको विपक्षमा मतदान गर्न प्रमुख सचेतक माननीय रमेश लेखकले ह्विप जारी गरेको जानकारी दिएका छन्।
काठमाडौं, माघ ४ : यही माघ ५ गते विहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदमा ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान नेपाली कांग्रेस संसदीय दलले ह्विप जारी गरेको छ।
कांग्रेस संसदीय दलको कार्यलयका अधिकृत विजयेन्द्र वीर आलेले आज (बुधबार) सूचना जारी गरेर कांग्रेसका तर्फबाट सभामुख पदकी उम्मेदवार न्यौपानेकाे पक्षमा र देवराज घिमिरेको विपक्षमा मतदान गर्न प्रमुख सचेतक माननीय रमेश लेखकले ह्विप जारी गरेको जानकारी दिएका छन्। घिमिरे एमालेका तर्फबाट सभामुख पदका उम्मेदवार हुन्।
‘संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम सभामुखको निर्वाचन सम्बन्धी प्रस्तावहरु प्रस्तुत हुने भएकोले उक्त बैठकमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका माननीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र माननीय ईश्वरी देवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र माननीय देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखकज्यूले व्हिप जारी गर्नु भएको छ,’ सूचनामा उल्लेख छ।
कांग्रेसबाट आज उम्मेदवारी दिएकी न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन्।












