सभामुख पदका लागि कांग्रेसकी ईश्वरी न्यौपानेले दिइन् उम्मेदवारी
उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् ।
काठमाडौं, माघ ४ : नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । बुधबार संघीय संसद भवन पुगेर न्यौपानेले उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् । नेपाली कांग्रेसले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय आज मात्रै गरेको हो ।
सभामुखबारे कांग्रेसले आज बिहानदेखि लगातार छलफल गरिरहेको थियो । पदाधिकारी बैठकपछि बसेको संसदीय दलको बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
कांग्रेसलाई एकीकृत समाजवादी र जनता समाजवादीको समर्थन छ ।
सभामुख पदका लागि सत्ता गठबन्धनको तर्फबाट एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन् । सभामुखको निर्वाचन भोलि हुनेछ ।
प्रकाशित मिति: १५:४६ बजे, बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











