Kathmandu Press

परम्परागत उपकरणको संरक्षण : म्याग्दीमा अझै प्रचलित छ उखु पेल्ने कोल (तस्बिरहरू)

परम्परागत उपकरणको संरक्षण : म्याग्दीमा अझै प्रचलित छ उखु पेल्ने कोल (तस्बिरहरू)

म्याग्दी, माघ ४ : पछिल्लो समय खेती किसानीदेखि घरायसी काममा प्रयोग हुने विभिन्न आधुनिक उपकरणको विकास भइरहेका छन् । 

विद्युत र इन्धनबाट चल्ने त्यस्ता उपकरणले मानिसको श्रमशक्ति घटाएको छ भने समय र खर्चको पनि बचत गरेको छ । आधुनिक सामग्रीको विकास भएपनि कतिपय ठाउँमा अझै परम्परागत सामग्रीको प्रयोगमा कमी आएको छैन् । 

HB-KTM-IMG_01801674032813.jpg

जिल्लाको मंगला गाउँपालिका–२ सिममा रहेको उखु पेल्ने कोलको लोकप्रियता कायमै छ । विसं २०१९ मा स्थानीयवासी खगेन्द्र केसीले कोल स्थापना गरेका थिए । हाल काठमाडौँमा बस्दै आउनुभएका उनले अहिले छिमेकी र घरकुरुवालाई कोल सञ्चालनको जिम्मा लगाएका छन् । 

‘पचास वर्षअघि जसरी उखु पेल्न आउने गर्दथे अहिले पनि त्यस्तै छ,’ खगेन्द्रका छिमेकी समेत रहेका आफन्त दिपक केसीले भने, ‘उखु पेल्ने आधुनिक मेसिन विकास भएपनि यो कोलको महत्व र प्रयोग कायमै छ।’ 

HB_KTM-IMG_01421674032811.jpg

बेनी–दरवाङ सडकको छेउमै रहेको खगेन्द्रको घरमा हरेक वर्षको पुष र माघ महिनामा कोल जडान गरिन्छ । सो कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट कृषकहरु आउने गरेका छन् । कोलमा उखु पेले वापत १५ लिटर बराबर रु ८० शुल्क तोकिएको छ । उखु पेल्न पालो लगाउनुपर्छ । 

HB_KTM-IMG_01611674032814.jpg

‘कोलमा पेल्दा धेरै रस आउने, शुद्ध र राम्रो हुन्छ,’ मंगला–५ सिर्कुमकी लिलावती सापकोटाले भने, ‘कोलमा पेलेको उखुको रस स्वस्थकर पनि हुन्छ । त्यही भएर डेढ घण्टा हिडेर उखु पेल्न आएको हो।’
 

HB_KTM-IMG_01671674032812.jpg

कोलमा पेलेर निकालिएको उखुको रस पकाएर खुदो बनाउने गरिन्छ । मंगला गाउँपालिका–५ पिपलबोटकी चन्द्रकली सापकोटाका अनुसार चिनीको उपलब्धता नहुँदा गाउँघरमा गुलियोगका लागि खुदो प्रयोग हुन्थ्यो । ‘खुदोलाई पूजाआजामा पनि प्रयोग गरिन्छ,’ उनले भने, ‘तत्कालीन चिनी पाइदैनथ्यो । गुलीयो बनाउन खुदो चाहिन्थ्यो ।’
HB_KTM-IMG_02101674032811.jpg 

मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाउएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ । गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन् । फलामको कोलको बीचमा उसु राखेर काठ घुमाएपछि रस झर्ने गर्छ । कोल चलाउन दुईदेखि तीन जना जनशक्ति आवश्यक पर्छ। 

प्रकाशित मिति: १४:४४ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्