केही साताभित्रै वर्षमानको कलेजो प्रत्यारोपण गरिँदै
पुनलाई ललितपुरको धापाखेलस्थित सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको छ। गृहजिल्ला रोल्पा पुगेका उनलाई स्वास्थ्य समस्या देखिएपछि गत शनिबार हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।
काठमाडौं, माघ ४ : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ। उनको कलेजोको ८० प्रतिशतभन्दा बढी भाग बिग्रिसकेको हुँदा कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको बताइएको छ।
पुनलाई ललितपुरको धापाखेलस्थित सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको छ। गृहजिल्ला रोल्पा पुगेका उनलाई स्वास्थ्य समस्या देखिएपछि गत शनिबार हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।
पुनको दुई महिनादेखि पेटमा पानी जम्ने समस्या देखिएको र अस्पतालमा भर्नापछि साढे २ लिटर पानी निकालिएको जनाइएको छ। उनको उपचारमा संलग्न मेडिकल टिमका अनुसार केही साताभित्रै उनको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था देखिएको छ।
अस्पतालमा पुनलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरू पुगिसकेका छन्।
कलेजो प्रत्यारोपणबारे अस्पतालले पुनको परिवारका साथै माओवादी केन्द्रको शीर्ष नेतृत्वसँग छलफल गरिसकेको बताइएको छ। प्रत्यारोपण कहाँ गर्ने भन्ने विषयमा भने टुंगो लाग्न बाँकी छ।
पुनले यसअघि चीनमा स्वास्थ्य उपचार गराउँदै आएका थिए। त्यसकारण नेपालमा या चीनमा कहाँ गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। तर अहिले नेपालमा पनि कलेजो प्रत्यारोपण सम्भव भइसकेको छ।
चिकित्सकहरूका अनुसार अनुसार पुनको स्वास्थ्य स्थिति स्थिर छ। पुनलाई विश्वमा बिरलै देखिने जटिल प्रकृतिको वंशाणुगत जन्डिस देखिएको बताइएको छ।
पुनलाई केही समययता खाना नरुच्ने, पेट फुल्ने समस्या देखिएको थियो। चिकित्सकहरूका अनुसार कलेजो आफैं विकसित हुने अंग भएकाले प्रत्यारोपणको तीन महिनादेखि आफैं विकसित हुन्छ।
६ महिनामा ९० प्रतिशतजति विकास भइसक्ने भएकाले त्यसपछि बिरामीले पहिलेजस्तै सहज जीवन जिउन सक्ने अवस्था बन्छ।











