सभामुखको उम्मेदवार टुंग्याउन कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेसले यसपालि महिलालाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।
काठमाडौं, माघ ४ : नेपाली कांग्रेसले प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवारी दिने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय गरेको हो ।
सभामुखको उम्मेदवारबारे भने कांग्रेसको संसदीय दलको बैठकले निर्णय गर्ने बताइएको छ । त्यसका लागि आजै दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको छ । कांग्रेसले यसपालि महिलालाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।
पदाधिकारी बैठकमा सभामुखका लागि आवश्यक बहुमत जुटाउन सक्ने सम्भावनाबारे छलफल भएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । पदाधिकारी बैठकअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
सरकारलाई विश्वासको मत दिएका कारण कांग्रेसले सभामुखका लागि माओवादी केन्द्रको पनि साथ खोजेको छ । तर, माओवादी केन्द्र एमाले नेतृत्वको गठबन्धनमा रहेका कारण सभामुख निर्वाचनमा कांग्रेसलाई साथ लिने सम्भावना न्यून छ । यसबारेमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सल्लाह गर्ने आश्वासन दिएका थिए ।
भोलि हुने सभामुख निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ ।











