सभामुखबारे कांग्रेस सभापति देउवासँग माधव नेपाल र उपेन्द्र यादवको छलफल

काठमाडौं, माघ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।
बुधबार बिहान कांग्रेस पदाधिकारी बैठकअघि नेपाल र यादवले देउवासँग भेट गरेका हुन् । भेटमा भोलि हुने सभामुखको निर्वाचनका लागि उम्मेदवारको बारेमा छलफल भएको बताइएको छ ।
सभामुखको निर्वाचनका लागि नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेसले अन्य दलको समर्थन खोजिरहेको बेला सरकारमा नगएका माधव नेपाल र उपेन्द्र यादवले देउवासँग भेट गरेका हुन् ।
सरकारलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले प्रतिपक्षमा बस्ने बताइसकेको छ भने सरकारमा सम्मानजनक भाग नपाउँदा उपेन्द्र यादवले सरकारलाई दिएको समर्थनबारे बिचार गर्ने बताइसकेका छन् । यादवले हिजोको सर्वदलीय बैठकसमेत बहिष्कार गरेका थिए ।
कांग्रेसले गठबन्धनबाट जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतलाई आफूतिर तान्न खोजिरहेको छ । राष्ट्रपति चुनावलाई समेत मध्यनजर गरेर कांग्रेसले आफ्नो गठबन्धन बलियो बनाउन खोजेको हो ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसको ८९, एकीकृत समाजवादीको १० जसपाका १२, नागरिक उन्मुक्तिको ३ र जनमत पार्टीका ६ सांसद छन् ।











