Kathmandu Press

अभिनेता पल शाहले पाए तनहुँ अदालतबाट सफाइ

अभिनेता पल शाहले पाए तनहुँ अदालतबाट सफाइ

तनहुँ, माघ ३ : नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । 

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता शाहलाई सफाइ दिएको हो । शाहविरुद्धको सुनुवाइमा अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

Hardik ivf

'तनहुँ जिल्ला अदालतमा दर्ता भएको शाहविरुद्धको मुद्दामा अदालतले सफाइ दिने फैसला सुनाएको छ,' उनले भने, 'फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट छ ।'

अभिनेता शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा पटकपटक तोकिएर स्थगित हुँदै आएको थियो । उक्त मुद्दाको अन्तिम सुनुवाइमा आज वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए।

तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई सफाइ दिए पनि उनी कारागारमै रहने छन् । सोही प्रकृतिको मुद्दा नवलपुर जिल्ला अदालतमा दर्ता भएकामा नवलपुर जिल्ला अदालतले शाहविरुद्ध गत भदौ २१ गते दुई वर्ष छ महिना कैद र रु २५ हजार जरिवानाको फैसला सुनाएको थियो । साथै  पीडितलाई  रु दश लाख क्षतिपूर्ति दिनुपर्ने फैसला भएको थियो । 

शाहले उक्त फैसला उपर गत कात्तिक २५ गते उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत वर्ष फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । उनलाई चैत १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

प्रकाशित मिति: १९:२२ बजे, मंगलबार, माघ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्