‘मन्त्री बन्न लागेको कुरा सुनाउँदा बुवा भावुक हुनुभयो’

काठमाडौं, माघ ३ : माओवादी केन्द्रबाट सुदन किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दैछन् । तीनपटकसम्म सांसद भइसकेका भोजपुरका सुदन किराती पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।
उनले यही कुरा आफ्ना ७५ वर्षीय बुवा हर्कबहादुर राईलाई सुनाए । उनका बुवा पक्षघातका कारण अहिले ओछ्यानमै छन्। छोरा मन्त्री बन्ने खबरले उनी भावुक भएको किरातीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
किरातीले अस्पतालको बेडमा रहेका बुवासँग भएको कुराकानी सामाजिक सञ्जालमा राखेका छन् । जुन यस्ताे छ:
म- बुवा म मन्त्री हुने भए छु।
बुवा - हँ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो?
म - हो बुवा साँच्चै हो बिपना नै हो। (संस्कृति,पर्यटन तथा नागरिक उड्डयन)
बुवा- मन्त्री चाहि कसरी भइस? कसले गर्दा भइस्?
म - पहिलो त तपाईंहरूले जन्माउनु भयो, दोस्रो त मैले धेरै राजनीतिमा दु:ख गरे, तेस्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्यो।
बुवा- राम राम राम ! म उहिले फकल्यान्डको लडाइँमा मरेको भए यो दिन सुन्न र देख्न पाउँदिन थें!
म - म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो...।
बुवा- हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौं, राम्रो गर्नू।
म - पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो। म मेहनेत गर्छु। आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी सँगै हुन पाएको भए...।
बुवा- म गएपछि तेरो आमा सँग भेट हुन्छ नै होला म सबै भनिदिउँला। बुवा रूनु भो! म...!
सम्झे!
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रूनु भएको थियो। आज पनि उस्तै रूनुभयो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाव भने फरक।











