Kathmandu Press

गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगियो, कुन दललाई कति ? 

एमालेले ८, माओवादीले ४ मन्त्रालय पाउँदा रास्वपा र राप्रपाले तीन/तीन मन्त्री र एक/एक राज्यमन्त्री पाउने भएका छन्।
गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगियो, कुन दललाई कति ? 

काठमाडौं, माघ २ : सत्तारुढ गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझदेखि राति अबेरसम्म बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । 

पाँच घन्टा लामो बैठकले मन्त्रालयका भागबन्डामा मोटामोटी सहमति निकालेको हो । सहमतिअनुसार नेकपा एमालेले सबैभन्दा धेरै ८ मन्त्रालय पाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन/तीन मन्त्री र एक/एक राज्यमन्त्री पाउने गरी सहमति जुटेको छ । यसैगरी जनमत पार्टीलाई पनि एक मन्त्रालय दिने सहमति भएको छ । 

कुन पार्टीले कुनकुन मन्त्रालय पाउने भन्ने चाहीँ खुलाइएको छैन । यसअघि नेकपा एमालेले १० र माओवादी केन्द्रले पाँच मन्त्रालयको दाबी गर्दै आइरहेका थिए । तर, सोमबार बिहान बालकोटमा ओली र प्रधानमन्त्री प्रचण्डबीच भएको छलफलपछि भने दुबै पार्टीले लचकता अपनाएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । उनले जनता समाजवादी पार्टीलाई समझदारीमा ल्याउन र अन्य दलहरु पनि सरकारमा जाने भएभने केही संख्या हेरफेर हुनसक्ने बताए । 

सरकारलाई विश्वासको मत दिएको लोकतान्त्रिक समाजवादीले सरकारमा जाने निर्णय गरिसकेको छ । उसलाई सरकारमा सहभागी गराउन एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक रहेका छन् । जसपा र लोसपा दुबै सरकारमा जाने भएमा दलहरुबीच भागबन्डा भएको भन्दा केही तलमाथि हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति: २३:५६ बजे, सोमबार, माघ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्