पाेखरा विमान दुर्घटना : छोरा–बुहारी र नातीको सम्झानामा थामिएको छैन मदनकाजीको आँसु
उनी छिनछिनमा नाति, छोरा र बुहारीलाई सम्झिएर भक्कानिन्थे । आफैं रोगसँग लडिरहेका श्रेष्ठलाई आइतबारको झनै कमजोर बनाएको छ।
पाेखरा, माघ २ : परिवारलाई सान्त्वना दिन आज दिउँसो नेकपा एसका नेता र स्थानीयवासीको भीड थियो पोखराको गणेशटोलस्थित मदनकाजी श्रेष्ठको घरमा ।
मदनकाजी सोमबार पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका डा. सुशील श्रेष्ठका बुबा हुन्। सो दुर्घनामा बुहारी डा. सोना श्रेष्ठ १५ महिने नातिको पनि मृत्यु भएको थियो।
बैठक कोठाको ‘लो बेड’ मा सुतिरहेका श्रेष्ठको आँखाबाट आँसु बगिरहेको थियो । छिनछिनमा गम्छाले आँसु पुछिरहेको दृश्यले त्यहाँ पुग्ने आधिकाशंको आँखा पनि रसाइरहेको थियो ।
त्यही समयमा सान्त्वना दिनकै लागि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उनको मोबाइलमा फोन गरे। तर पहिलो पटक श्रेष्ठले फोन उठाएनन् । अर्को पटक फोन आयो, श्रेष्ठले फोन उठाए । उनुभयो तर श्रेष्ठको वाक्य स्पष्ट हुनै सकेन ।
उनी छिनछिनमा नाति, छोरा र बुहारीलाई सम्झिएर भक्कानिन्थे । आफैं रोगसँग लडिरहेका श्रेष्ठलाई आइतबारको झनै कमजोर बनाएको छ।
परिवारसँग बसेर खुसीसाथ माघे संक्रान्ति मनाउन डा. श्रेष्ठ परिवार काठमाडौँबाट पोखरा आउँदै गरेको थियो । त्यो सपना अधुरै रह्यो।
आँखामा राखे पनि नबिझाउने, अनुशासित डा. सुशील, उनकी पत्नी र छोराको निधनले गाउँ नै शोकमा डुबेको छिमेकी कृष्णमान पालिखेले बताइन्। ‘सबैलाई सम्मान र अनुशासित व्यक्तिको निधनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ’, उनले भनिन्, ‘भुल्छु भन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिनँ।’
नेकपा एसका नेता मदनकाजी पनि सामाजिक सेवामा दिनरात खटिने र छोरा सुशील पनि सरल स्वभावका थिए, तर दुर्घटनाले परिवार नै समाप्त पारिदियो । सुशीलकी आमा पनि अर्धचेत अवस्थामा छिन्, घरिघरि छोरा बुहारी र भरभराउने नातिको सम्झना आइरहन्छ उनलाई।
उनीहरू तीनै जनाको शव फेला परिसकेको छ, तर शवहरू क्षतविक्षत अवस्थामा छन्।
दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए श्रेष्ठ । डा. सोना पनि एमडी गर्दै थिइन्। डा. सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबिबिएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए।
तीनै जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको छ। अस्पतालले मंगलबारमात्र शव आफन्तको जिम्मा लगाउनेछ।











