एटीआर जहाजको परीक्षणपछि प्राधिकरणले भन्यो– कुनै प्राविधिक त्रुटि भेटिएन
परीक्षणपछि प्राधिकरणले नेपालका सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजमा कुनै प्राविधिक त्रुटि नदेखिएको जनाएको छ।
काठमाडाैं, माघ २ : आइतबार पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना लगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै एटीआर जहाजको प्राविधिक परीक्षण गरेको छ।
परीक्षणपछि प्राधिकरणले नेपालका सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजमा कुनै प्राविधिक त्रुटि नदेखिएको जनाएको छ।
‘वायुयानको नियमित उडान योग्यताका लागि दैनिक गरिने दैनिक निरीक्षण, उडानपूर्व गरिने निरीक्षण, निश्चित अन्तरालमा गरिने ुसेड्युल इन्सपेक्सनु जस्ता मर्मत सम्भारका कार्यहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड र वायुयान निर्माता कम्पनीका मापदण्ड बमोजिम गर्ने गरिएको छ,’ प्राधिकरणले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आइतबारको दुर्घटना लगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुले नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्।
त्यस्तै प्राधिकरणले आइतबार पोखरामा भएको विमान दुर्घटनाबारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ। दुर्घटनाका सम्बन्धमा प्राधिकरण केही उच्चपदस्थ पूर्वकर्मचारी तथा अन्य व्यक्तिबाट भएको टिकाटिप्पणी तथा अभिव्यक्तिका कारण सर्वसाधारणमा भ्रम फैलिएको प्राधिकरणले जनाएको छ ।











