पोखरा विमान दुर्घटना : २४ शवको पोस्टमार्टम पोखरामै गरिने, बाँकी काठमाडौं ल्याइने

काठमाडौं, माघ २ : यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शव पोखरामा पोस्टमार्टम हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ६९ शवमध्ये २४ जनाको शव पोखरामै पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने भएको हो ।
बाँकी ४५ जनाको शव भने काठमाडौं पठाउन लागिएको छ । काठमाडौंमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालले जनाएको छ ।
२४ जनाको पोस्टमार्टम गरेर शव सकेसम्म आजै आफन्तलाई बुझाउने अस्पतालले जनाएको छ। काठमाडौं पठाइने मृतकको शव लिनका लागि आफन्तलाई काठमाडौंमै जान प्रशासनले आग्रह पनि गरेको छ।
चालक दलका ४ सदस्यसहित ७२ जना सवार यती एयरको विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । आइतबार ६८ जनाको शव फेला परेकोमा सोमबार दिउँसो पुनः एक जनाको शव भेटिएको थियो । बाँकी तीन जनाको भने खोजी कार्य जारी रहेको छ । सोमबार साँझसम्म ६९ जना मृतकमध्ये ४२ जनाको पहिचान भइसकेको छ ।
पहिचान हुन नसकेका शवहरुको डीएनए परीक्षण गरिने बताइएको छ ।











