Kathmandu Press

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित, दलहरुबीच आजको दिन गणना नगर्ने सहमति 

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित, दलहरुबीच आजको दिन गणना नगर्ने सहमति 

काठमाडौं, माघ २ : सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि सोमबार बिहान बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबार पोखरामा भएको विमान दुर्घटनामा सरकारले सोमबार शोक बिदा दिएका कारण आजको बैठक स्थगित गरिएको हो । 

सोमबार बिहान बसेको सर्वदलीय बैठकले आजको प्रदेशसभा बैठक स्थगित गरी सभामुख चयनका लागि मंगलबार मतदानको कार्यक्रम राख्ने सहमति गरेको हो । 

संविधानअनुसार प्रदेशसभाको सभामुख चयनका लागि आज अन्तिम दिन हो । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने प्रावधान भएपनि पटकपटक भएको मतदानबाट सभामुख चयन गर्न दलहरु असफल भएका छन् । आज राति १२ बजेसम्म सभामुख चयन गरिसक्नुपर्ने भएपनि दलहरुबीच आजको दिनलाई गणना नगर्ने र भोलि सभामुखको मतदान गर्ने सहमति भएको हो । 

सभामुख चयनका लागि मंगलबार बिहान १० बजे प्रदेशसभाको बैठक बोलाइएको छ । 

प्रदेशसभामा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेका कारण सभामुख चयन हुन नसकेको हो । सभामुखका चयन हुन उम्मेदवारले कम्तिमा २७ मत ल्याउनुपर्ने हुन्छ । तर ७ सांसद भएको नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सत्ता गठबन्धन र कांग्रेसका दुबै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन् । 

सुदूरपश्चिमको सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । यसअघि पुस २८ र ३० गते भएको मतदानमा दुबै उम्मेदवारले २७ मत पाउन सकेनन् । 

अबको बैठकमा के गर्ने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टीले छलफलबाट निर्णय गर्ने जनाएको छ । 
 

 

प्रकाशित मिति: ११:३८ बजे, सोमबार, माघ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्