पोखरा विमान दुर्घटना : मृत्यु भएका ६८ मध्ये २६ जनाको पहिचान
पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।
काठमाडौं, माघ २ : आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका ६८ मध्ये २६ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव राखिएको र हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिए ।
दुर्घटनामा मृत्यु गुमाएर पहिचान खुल्नेमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा सुशील श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवाकर रहेका छन् ।
पर्वतको कुश्मा -१ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुश्मा -९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन् ।
यस्तै, रुपन्देही शंकर ८ का डा. गणेश थापा, काठमांडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले जानकारी दिए। त्यस्तै हराइरहेका ४ जनाको खोजी कार्य सोमबार बिहानैदेखि सुरु भएपनि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारमा कठिनाइ भएको छ।











