Kathmandu Press

विमान दुर्घटनामा परेका पर्वतका पाँच जनाको सनाखत

विमान दुर्घटनामा परेका पर्वतका पाँच जनाको सनाखत

पर्वत, माघ १ : आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका नौजनाको ज्यान गएको पुष्टि भए पनि पाँचजनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका त्रिभुवन पौडेल, कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल रहेका छन् । त्यसैगरी कुश्मा नगरपालिका–१ पाङका १० महिने बालक रिहान पौडेल र रचना काफ्लेको सनाखत भएको  छ भने पर्वतको विहादी गाउँपालिकाका चारजनाको सनाखत हुन सकेको छैन । उनीहरुको नामावलीसमेत पहिचान हुन सकेको छैन । 

दुर्घटनामा ज्यान गुमाउनेमा पर्वतको कुश्माका बाबुछोरी नै छन् । दुर्घटनामा कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धिको निधन भएको छ । 
    
काठमाडौँको वृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जन्मघर पर्वत आउने क्रममा उनीहरु दुर्घटनामा परे। 'छोरीको स्कुल बिदा पनि भएकाले दाजुभाइ भेटौँ भनेर जन्मघर आउन लाग्नुभएको रहेछ,' अरुणका छिमेकी उपेन्द्र अधिकारीले भने,  'उहाँहरूलाई लिन भाइ  (अरुणका भाइ केशव) विमानस्थलमै पुगेका थिए। ' केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धिको शवको पहिचान गरे।

मृतक पौडेल ९ वर्ष कोरियामा बसेर फर्किएका थिए। अधिकारीका अनुसार कोरियाबाट फर्केपछि पौडेल तीन छोरी र श्रीमतीसँग काठमाडौँमा बस्दै आएका थिए। कोरियाबाट फर्किएपछि समाज सेवामा लाग्नुभएका उहाँ गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए।

प्रकाशित मिति: २०:५८ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्