दुर्घटनास्थलबाट ६४ जनाको शव निकालियो, सनाखत कार्य सुरु
दुर्घटनास्थलबाट निकालिएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी मेडिकल कलेज (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा सनाखत गर्न थालिएको छ ।
काठमाडौं, माघ १ : आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीले दुर्घटनास्थलबाट हालसम्म ६४ जनाको शव निकालिएको जानकारी दिए।
तीमध्ये ३० वटा शव अस्पताल पु¥याइएको छ । बाँकी शवहरु पनि निकाल्ने प्रयास भइरहेको एसपी केसीले जानकारी दिए । उनका अनुसार बाँकी शवहरु खोँचमा रहेका कारण निकाल्न कठिन भएको छ ।
दुर्घटनास्थलबाट निकालिएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी मेडिकल कलेज (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा सनाखत गर्न थालिएको छ ।
मृतकमध्ये ५ जनाको सनाखत भएको केसीले जानकारी दिए। एसपी केसीले अहिलेसम्म कोही पनि जीवित नभेटिएको जानकारी दिए ।
जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।
दुर्घटनामा परेको जहाजमा आगो लागेको थियो। केही घन्टापछि आगो नियन्त्रणमा लिएर अहिले उद्धारको काम भइरहेको छ।











