यती एयरको विमान दुर्घटनापछि दिनभर के–के भए ?

काठमाडौं माघ १ : काठमाडौंबाट पोखराका लागि उडेका यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज सेती दोभानको खोँचमा खसेर दुर्घटनाग्रस्त भयो ।
जहाज आइतबार १०ः३३ बजे उडेको थिया । नेपाल नागरिक उड््ययन प्राधिकरणले बिहान १०ः५० बजेसम्म विमान पोखरा टावरको सम्पर्कमा रहेको जानकारी दिएको छ । त्यसपछि दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त जहाजमा चालक दलका ४ सदस्य र ६८ यात्रु थिए । क्याप्टेन कमल मल्लले उडाएको विमानको चालक दलमा अञ्जु खतिवडा, सुजना होंगचुन, ओसीन आलेमगर थिए।
विमानमा ५३ नेपाली, ५ भारतीय नागरिक, ४ जना रुसी नागरिक, आयरल्याण्डका एक नागरिक, दुईजना कोरियाका नागरिक, एक अर्जेन्टिनी नागरिक, र फ्रान्स र अष्ट्रेलियाका एकएक नागरिक रहेको बताइएको छ । विमानमा ४१ पुरुष र २७ महिला थिए ।
दुर्घटनामा परेको लगभग तीन घण्टापछि आगो निभाइएपनि हालसम्म जीवित उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए । उनका अनुसार दिउँसो १ः३० सम्म ३६ जनाको शव निकालेर गण्डकी अस्पताल लगिएको छ। दुर्घटनामा परेको एएनसी एटीआर जहाजले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेको थियो । ।
नेपालको हवाई इतिहासमा एटिआर–७२ जहाज पहिलो पटक दुर्घटनामा परेको छ । एटीआर जहाज ७० देखि ७२ सिट क्षमताका हुन्छन् । यसअघि नेकोन एयरले पनि एटिआर जहाज चलाएको थियो । तर पछिल्लो समय नेपालमा बुद्ध र यती एयरलाइन्ससँग मात्र एटिआर–७२ जहाज छन् । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले एटिआर–७२ जहाजको पहिलो दुर्घटना भएको बताए।
आइतबार दुर्घटना परेको यती एयरलाइन्सको चौथो दुर्घटना हो । तर, यती एयरलाइन्सको २५ वर्षे इतिहासमा यो सबैभन्दा ठूलो दुर्घटना भएको छ । अहिलेसम्म भएका यती एयरका जहाज दुर्घटनामा बढीमा १९ जनाको मात्रै मुत्यु भएको थियो । आइतबार भएको दुर्घटनामा सबैभन्दा ठूलो मानवीय क्षति भएको छ । नेपालको इतिहासमा यो दुर्घटना १०८औं हो ।
दुर्घटनाग्रस्त यति एयरलाइन्सको जहाजमा सवार यात्रु तथा चालकदलका सदस्यहरु नामावली सार्वजनिक भइसकेको छ । त्यसमा नेपाली कलाकार, पत्रकारसमेत परेका छन् ।
दुर्घटनामा पर्नेमा लोकगायिका निरा छन्त्याल रहेकी छिन् । उनको अवस्था अज्ञात रहेको छ । उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा गएकी थिइन् । त्यस्तै, एकजना पत्रकारसमेत परेका छन् । दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल हुन् । दुई दशकदेखि पत्रकारीतामा संलग्न रहेका पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका छन् भने पत्रकार महासंघ गण्डकी प्रदेशका पूर्वअध्यक्षसमेत हुन् ।
विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए ।
जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनी आइतबारका सबै मिटिङ स्थगित छोडेर दुर्घटनाबारे बुझ्न विमानस्थल पुगेका थिए। लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले भोलि देशभर शोक बिदा दिने निर्णय गरेको छ । जहाज दुर्घटनाको बारेमा छानबिन गर्न सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ।
काठमाडौं तथा पोखरा विमानस्थलमा खोज तथा उद्धारका कार्यको लागि हेलिकष्टर तयारी अवस्थामा राखिएको छ । खोजी कार्य गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीसमेत संलग्न भई उद्धार कार्य भइरहेको छ।











