बासमती चामलको भात १० रुपैयाँमा !
विराटनगर, पुस १७ : विराटनगरमा थोरै पैसामा पेटभरि खाना खुवाउने अभियान संचालन गरिएको छ। जसले गर्दा दैनिक खाना खानेको भीड लाग्न थालेको छ।
स्थान....
विराटनगर, पुस १७ : विराटनगरमा थोरै पैसामा पेटभरि खाना खुवाउने अभियान संचालन गरिएको छ। जसले गर्दा दैनिक खाना खानेको भीड लाग्न थालेको छ।
स्थानीय समाजसेवी दिलीप धाडेवालको नेतृत्वमा १० रुपैयाँमा पेटभरि खाना खुवाउने अभियान संचालन गरिएको हो। सुरुआतमा विराटनगरको काली मन्दिर अगाडि खाना खुवाउन थालिएको थियो। मान्छेको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउन थालिएको धाडेवालले बताए।
सर्वसाधारणलाई १० रुपैयाँमा बासमती चामलको भात र झोल भएको तरकारी खाना दिने गरिएको उनले बताए। उनका अनुसार, एक व्यक्तिले खाना खाँदा १० रुपैयाँ तिर्नुपर्छ भने घरका लागि खाना लैजाँदा २० रुपैयाँ तिर्नुपर्छ। त्यस्तै, अरुलाई खुवाउन चाहेमा ३० रुपैयाँ तिर्नुपर्छ।
यो अभियान सुरू भएको १० दिन पुगेको छ। दैनिक सात सयदेखि एक हजारले खाना खाइरहेको उनले बताए।
उनलाई स्थानीय नन्दु तपडिया, उमेश यादव र मोहम्मद कादिरले सघाइरहेका छन्। तिरुपति क्याटरिङले खाना खुवाउने सघाएको छ। ‘यसमा दिनको करिब १७ हजार रुपैयाँ खर्च हुन्छ,’ खाना अभियानकर्मी धाडेवालले भने, ‘यो अभियान अब सधैं जारी रहन्छ, यसका लागि सहयोगीले नाम लेखाइसकेका छन्।’ एक जना सहयोगीले एक दिनको जिम्मा लिएको उनले बताए।
यसबाट यो अभियान सञ्चालन गर्न कुनै कठिनाइ नहुने उनको भनाइ छ। ‘वर्षमा ३६५ दिनका लागि ३६५ जना नै सहयोग गर्न तयार छन् अब कसैले सहयोग गर्न चाहेमा अर्को वर्षका लागि ती मानिसको नाम दर्ता हुनेछ र सोहीअनुसार अभियानलाई कायम राखिने छ,’ धाडेवालले भने।
सस्तोमा खाना खुवाउन शुरु गरेपछि विपन्न मानिस मात्र होइन सम्पन्न मानिसले पनि खाना खाने गरेको र कसैले आफूले खाएको तोकिएको रकमभन्दा बढी दिन खोजेमा सहयोगी पेटिकामा राख्ने गरिएको उनले बताए।





