Kathmandu Press

न्यायको आशामा मिटरब्याजी पीडित

लामो समयदेखि न्याय नपाएपछि आज सर्लाहीको हरिवनमा भेला भएका मिटरब्याजी पीडितहरूले न्यायका लागि पुनः अगाडि बढ्ने बताएका छन् ।
न्यायको आशामा मिटरब्याजी पीडित

सर्लाही, पुस ३० :  मिटरब्याजी पीडितको समस्या उठान गर्ने व्यक्तिहरू नै सरकारको नेतृत्वमा पुगेपछि आफूहरूको मुद्दाको सम्बोधन हुने आशा पलाएको पीडितहरूले बताएका छन्।

लामो समयदेखि न्याय नपाएपछि आज सर्लाहीको हरिवनमा भेला भएका मिटरब्याजी पीडितहरूले न्यायका लागि पुनः अगाडि बढ्ने बताएका छन् ।  माओवादीका नेताहरूले पीडितको मुद्दा सम्बोधनका लागि विगतदेखि पहल गर्दै आएका छन्।

सञ्चारकर्मी हुँदा गृहमन्त्री रवि लामिछानेले जोडदार रूपमा आवाज उठाएका थिए। विगतमा मुद्दा उठान गर्ने व्यक्तिहरू माग सम्बोधन गर्ने ठाउँमा पुगेकाले आफूहरूले न्याय पाउनेमा विश्वस्त रहेको पीडित रुकमिनी देवी चौधरीले बताउँछन्।

अदालतबाट न्याय पाउनेमा आफूहरू सशंकित रहेको पीडित चौधरीले बताए। पीडक बलियो रहेकाले उनीहरूले न्यायालयलाई प्रभावित पारेको चौधरीको आरोप छ । पीडितहरूको आजको भेलाले न्यायका लागि एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय गरेको छ ।

न्यायका लागि अगाडि बढ्न मिटरब्याजी तथा ठगी विरुद्ध जिल्लास्तरीय संघर्ष समितिलाई पुनर्गठन गरेको छ । सरस्वती मिश्र वाग्लेको नेतृत्वमा पुनः सङ्घर्ष समिति बनाइएको हो।

सर्लाहीमा तीन मिटरब्याजी श्याम परदेशी, रामबाबु यादव र सञ्जय साह रौनियारले धेरै व्यक्तिलाई ठगी गरी उठीवास लगाएपछि न्यायका लागि उनीहरू सङ्घर्षमा उत्रेका हुन् । श्याम परदेशी भन्ने श्यामकृष्ण साह जिल्ला अदालत सर्लाहीको आदेशामा पुर्पक्षका लागि अहिले कारागारमा रहेका छन् । रामबाबु यादव फरार छन् । सञ्जय साह रौनियार भने धरौटीमा छुटेका छन् ।

प्रकाशित मिति: ०६:५५ बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्