Kathmandu Press

‘कर्णाली समृद्धिको अभियान’ थालिने

भौगोलिक विकटता भएको कर्णालीको ठूलो शत्रु नै गरिबी भएको र त्यसको अन्त्यका लागि रोजगार र रोजगारसँगै स्वरोजगार सिर्जना गर्ने उनले बताए ।
‘कर्णाली समृद्धिको अभियान’ थालिने

सुर्खेत, पुस ३० : कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले ‘कर्णाली समृद्धिको अभियान’ थाल्ने बताएका छन्।

मुख्यमन्त्रीको पदबहाली गर्दै उनले सुख र खुसी प्राप्त गर्नुपर्ने दुई अभिभारा काँधमा आएको बताए। उनले भने, 'सुखी हाम्रो आर्थिक सम्पन्नता र खुसी सामाजिक न्यायसँग जोडिएको छ ।' भौगोलिक विकटता भएको कर्णालीको ठूलो शत्रु नै गरिबी भएको र त्यसको अन्त्यका लागि रोजगार र रोजगारसँगै स्वरोजगार सिर्जना गर्ने उनले बताए ।

मुख्यमन्त्री शर्माकाअनुसार कर्णाली समृद्धिको अभियान पूरा गर्न प्रतिवर्ष १० हजार बेरोजगारलाई रोजगारी प्रदान गर्न नीति निर्माण, बजेट तर्जुमाका साथै कार्यविधि बनाएर अगाडि बढिनेछ।

कर्णालीमा बजेट अभाव र प्रभावकारी कार्यान्वयन नै समस्या भएकाले त्यसको समाधानका लागि संयन्त्र निर्माण गरी कार्यसम्पादनमा जोड दिइने उनको भनाइ छ ।

“सङ्घीय प्रणालीमा पनि जनप्रतिनिधि र कर्मचारी सबैले जनताकै काम गर्नुपर्ने हुन्छ । यहाँ कर्मचारीलाई दण्ड नभई कर्णाली जान होडबाजी गर्ने प्रदेश बनाइनेछ,” उनले भने।

मुख्यमन्त्री शर्माले केन्द्रको निर्णयलाई न तोडी बरु सबैका भावनालाई जोडेर संसद् र सरकारलाई व्यवस्थित बनाउँदै प्रदेश निर्माणको यात्रा प्रारम्भ गरिएको बताए।

प्रकाशित मिति: ०६:१५ बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्