भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : अध्यक्ष नेपाल

काठमाडौं, पुस २९ : पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका छन्। पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा यो बढिरहेको बताए।
‘प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचार विरुद्धको सङ्कल्प भएको व्यक्तिको खाँचो छ,’ उनले भने, ‘यसको नियन्त्रण गर्न भावना र सङ्कल्प हुनुप¥यो, भ्रष्टाचारमुक्त परिवेश बनाउन सक्नुपर्छ।’ एउटा नेता र प्रधानमन्त्रीले चाहेर मात्रै यो नियन्त्रण सम्भव नभएको जिकिर गर्दै उनले राजनीति र प्रशासनिक निकायको माथिदेखि तलसम्म यसलाई नियन्त्रण गर्ने दृढता हुनुपर्ने बताए।
भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई भाषण मात्र बनाउन नहुनेमा जोड दिँदै उनले स्पष्ट प्रतिबद्धता भए यसको नियन्त्रण सम्भव रहेको बताए। लोभलालच र राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार बढेको उनको भनाइ थियो।
नेकपा (एमाले) का नेता युवराज ज्ञवालीले भ्रष्टाचार नियन्त्रण गर्न कठिन सङ्घर्षको जरुरी रहेको बताए। ‘जरो गाडेर रहेको यो विकृतिको अन्त्य गर्न धेरै समय लाग्छ, अहिले हाम्रो सबैभन्दा ठूलो दुस्मन नै यही हो,’ उनले भने। उनले राजनीतिक, सांस्कृतिक र विकास निर्माणका क्षेत्रमा यसले गहिरो असर गरिरहेको रहेको बताए ।
नेकपा (माओवादी केन्द्र) का नेत्री रेखा शर्माले समृद्धिको मुल बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै चाहेर नचाहेर पनि समाजमा यो जबरजस्त रहेको बताइन्। ‘यसका कारण नेपाल समृद्धिको यात्रामा अघि बढ्न सकेको छैन,’ उनले भनिन्, ‘राजनीतिक परिवर्तन भए, तर बदलिँदो व्यवस्थाअनुसार राज्यसंयन्त्र नबदलिँदा भ्रष्टाचार बढेर गएको छ ।” यसको नियन्त्रण गर्न राजनीतिक नेतृत्वले अग्रसरता लिनुपर्ने उनको भनाइ छ।











