प्रदेश १ का मुख्यमन्त्री कार्कीलाई ५९ सांसदले दिए विश्वासको मत

काठमाडौं, पुस २९ : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बसेको प्रदेश सभा बैठकबाट कार्कीले विश्वासको मत हासिल गरेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा ५९ प्रदेश सांसदले विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीले सदनमा राखेको प्रस्तावको पक्षमा मत दिएका हुन् ।
कांग्रेस र नेकपा(एकीकृत समाजवादी) का ३२ प्रदेश सांसदहरूले भने मुख्यमन्त्रीले सदनमा राखेको प्रस्तावको विपक्षमा मत दिएका छन् । कांग्रेसका सांसद प्रदीपकुमा सुनुवार भने अनुपस्थित रहे।
झापा ५(१) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित मुख्यमन्त्री कार्की एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० प्रदेश सांसदको समर्थनमा आइतबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएर सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।












