Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा सभामुख चयन प्रक्रिया स्थगन

सुदूरपश्चिम प्रदेशमा सभामुख चयन प्रक्रिया स्थगन

सुदूरपश्चिम, पुस २९ : सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन प्रक्रिया स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज अपराह्न जारी गरेको सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगन गरेसँगै सभामुख प्रक्रिया स्थगित भएको हो । 

यसअघि बिहीबारको बैठकमा मत विभाजनमा दुई जना उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त नगरेपछि आज विहान ११ बजेका लागि बैठक आह्वान गरिएको थियो । आज बिहानैदेखि बसेको सर्वदलीय बैठकमा पुनः मतदानका विषयमा सहमति जुट्न नसक्दा बैठक स्थगन गरिएको हो । 

प्रदेशसभामा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो भागमा तीन मन्त्रालय दिनेबारेमा लिखित सहमति नभएसम्म सभामुखको निर्वाचनमा भाग नलिने अडान लिएको छ। बिहीबारको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने छुट्टाछुट्टैरुपमा दुई प्रस्ताव पेश भएको थियो तर मत विभाजन गर्दा बहुमत सदस्य सङ्ख्या नपुगेपछि प्रस्ताव अस्वीकृत भएको थियो। 

सभामुख पदका लागि प्रदेशसभाका सदस्य नेपाली कांग्रेसका मानबहादुर रावल र नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारी उम्मेदवार छन्। रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी कांग्रेसका मेघराज खड्का प्रस्तावक र कांग्रेसकै पृथ्वीबहादुर सिंह समर्थक रहेको प्रस्तावमा ‘हुन्न’ भन्ने पक्षमा २७ मत र ‘हुन्छ’ भन्ने पक्षमा २३ मत परेको थियो । 

यसैगरी भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा (एमाले)की जानकी ऐर बम प्रस्तावक र माओवादी केन्द्रीकी गीतादेवी माल समर्थक रहेको अर्को प्रस्तावको ‘हुन्छ’ भन्ने पक्षमा २६ र ‘हुन्न’ भन्ने पक्षमा २३ मत परेको थियो ।

मत विभाजनमा ५० जनाले भाग लिएकोमा एक जनाको मत बदर भएको थियो । सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । मत विभाजनको प्रक्रियामा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र सत्तापक्ष एमालेका चक्रबहादुर मल्ल अनुपस्थित रहेका थिए। 
    
भण्डारीको पक्षमा एमाले, माओवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका सदस्य र  रावलको पक्षमा कांग्रेस, एकीकृत समाजवादी र एकजना स्वतन्त्र सदस्य थिए। प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । यो अवधि पुग्न थोरै दिन बाँकी छ ।
  
त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९,  एमालेका दश, माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सदस्य छन्। 

प्रकाशित मिति: १६:५१ बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्