Kathmandu Press

भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड विगो दाबी 

भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड विगो दाबी 

काठमाडौं, पुस २९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध १ करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारामा निमित्त प्रमुख रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले पोखरेलमाथि अनुसन्धान थालेको थियो । त्यसपछि पोखरेल सरुवा भएर भूमि आयोगमा पुगेका थिए ।हाल आयोगमै कार्यरत रहेका बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा १ करोठ ६ लाख रुपैंया विगो मागदावी सहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार पोखरेल २०४६ असार १ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए। आयोगले २०७८ फागुन १५ गतेसम्म सिर्जना गरेको सम्पत्ति, खर्च र लगानीको अध्ययन गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

पोखरेलले कूल   तीन करोड ३१ लाख ५५ हजार ६२ बराबरको आय आर्जन गरेको पाइएको छ । घरजग्गा बिक्री, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषबाट लिएको कर्जा आय, घर बहाल आय, बीमा, विदेशबाट पठाएको विप्रेषण, मोटरसाइकल बिक्री, शेयर बिक्री र कृषि आय हिसाब गरिएको छ ।

.सोही अवधिमा पोखरेलले रु चार करोड ३७ लाख ८८ हजार चार सय दुई बराबरको लगानी गरेको पाइएको छ । आम्दानी र खर्च तथा लगानीमा रु एक करोड छ लाख ३३ हजार तीन सय ३९ बराबरको भागको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।

आयोगले गैरकानुनीरुपमा पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेर स्रोत नखुलेको सम्पत्ति विमला न्यौपाने पोखरेलको नाममा समेत लगानी गरेको पाइएको जनाएको छ । 

न्यौपानेको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खातामा रकम मौज्दात राखेको पाइएकाले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो जफत गर्न माग गरेको छ । आयोगले श्रीमान्, श्रीमती दुवैलाई बिगोअनुसारको सम्पत्ति जफत र जरिवानाकोसमेत माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ । 

प्रकाशित मिति: १६:४७ बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्