Kathmandu Press

सातै प्रदेशमा हस्तकला उद्योग विस्तार गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

सातै प्रदेशमा हस्तकला उद्योग विस्तार गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

काठमाडौं, पुस २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली हस्तकलाको मौलिक सीपलाई पुस्तान्तरणका लागि सरकारको तर्फबाट सार्थक सहयोग रहने विश्वास व्यक्त गरेका छन् । 

नेपालको मौलिक सीपका रुपमा रहेको हस्तकला सीप आगामी पुस्तामा नजाने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको बेला प्रधानमन्त्रीले पुस्तान्तरणका लागि सरकारकातर्फबाट आवश्यक सहयोग रहने बताएका हुन् । 

नेपाल हस्तकला महासङ्घको ४२औँ साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताए। प्रधानमन्त्रीले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई थप विस्तार गर्दै आर्थिक विकासका लागि सहजीकरण गरिने बताए। 

‘हस्तकला क्षेत्र नेपालका लागि अग्र्यानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो,’ प्रधानमन्त्रीले भने, ‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने व्यापार घाटा कम गर्दै नेपाली मौलिकतालाई विश्वभर प्रचार र विस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्न प्रतिबद्ध छ।’

प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवद्र्धन गर्नुपर्ने बताए। उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन । मैले मन्त्रिपरिषदको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु । सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसद्को सम्बोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु।’

‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा म प्रतिबद्ध छु ।  यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु,’ प्रधानमन्त्री दाहालले भने, ‘म तेस्रोपटक प्रधानमन्त्री भएको छु । यो मेरा लागि परीक्षा पनि हो । म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ।’

उनले निर्वाचनले आफूहरुलाई मिलेर जाने जनमत दिएको भन्दै कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले नदिएको स्पष्ट पारे। इमान्दार भएर जनताको पक्षमा राम्रो काम नगरे परीक्षामा पास हुन नसकिने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रममा पनि हस्तकला प्रवर्द्धनका लागि विषय राख्नुपर्ने बताए । ‘हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ । यसलाई अर्को  पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ । यसकारण पाठ्यक्रममा नै हस्तकला उद्योगका विषय राख्ने माग सकारात्मक छ, म पहल गर्छु,’ उनले भने । 

 

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्