माओवादीबाट महिन्द्र यादव, सुदन किराती र रेखा शर्मा मन्त्री बन्दै
पूर्वसभामुखसमेत रहेका माओवादी नेता अग्नि सापकोटाले भने महिन्द्राको ठाउँमा सिन्धुपाल्चोकबाट निर्वाचित माधव सापकोटालाई मन्त्री बनाउनुपर्ने सर्त राखेका छन् ।
काठमाडौं, पुस २९ : नेकपा माओवादी केन्द्रले दाङबाट निर्वाचित रेखा शर्मा र भोजपुरबाट निर्वाचित सुदन किरातीलाई सरकारमा पठाउने भएको छ ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुसँग छलफल गरी शर्मा र किरातीलाई पार्टीको तर्फबाट सरकारमा सहभागी गराउने तयारी गरेका हुन् ।
माओवादीकै चिह्नबाट निर्वाचित नेपाल समाजवादीका अध्यक्ष महिन्द्र राय यादवलाई पनि मन्त्री बनाउने तयारी गरेका छन्।
तर, पूर्वसभामुख समेत रहेका अग्नि सापकोटाले भने सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटालाई मन्त्री बनाउन दबाब दिएको बताइएको छ । उनले आफूलाई उपराष्ट्रपति अथवा माधव सापकोटालाई मन्त्री बनाउनुपर्ने सर्त राखेको बताइएको छ । यसबारेमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले पार्टीभित्र थप छलफल गरेर निर्णय लिने बताइएको छ।
सत्ता गठबन्धनको छलफलबाट माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने सहमति भएको बताइएको छ । जसअनुसार प्रचण्ड प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त भइसकेका छन् ।











