सन्दीप लामिछानेमाथि परेकाे निवेदनकाे सुनुवाइ सकियाे

काठमाडाैं, पुस २८ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि परेकाे निवेदनकाे सुनुवाइ भएकाे छ। यसअघि ३ पटक पेशी चढे पनि सुनवाइ हुन नसकेको निवेदनमा बिहीबार सुनुवाइ भएको हो।
पाटन उच्च अदालतमा बिहीबार उनको निवेदनको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले गरेकाे थियाे।
उनको मुद्दामा अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन्।
सन्दीप नाबालिग बलात्कारको मुद्दामा पुर्पक्ष थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन्।
गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।
यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।
सन्दीपमाथि नाबालिगलाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।
उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।











