घनश्याम भुसाललाई एकीकृत समाजवादीको आग्रह– छिटोभन्दा छिटो पार्टीमा आउनुहोला
केही दिनअघि भुसालले एकीकृत समाजवादीमा आवद्ध हुन विभिन्न सर्तसहित पठाएको प्रस्तावबारे एकीकृत समाजवादी सकारात्मक रहेको भन्दै तत्काल पार्टीमा जोडिन जवाफ पठाएको हो ।
काठमाडौं, पुस २८ : नेकपा (एकीकृत समाजवादी)ले वामपन्थी नेता घनश्याम भुसाललाई पार्टीमा आवद्ध हुन अनुरोध गरेको छ । केही दिनअघि भुसालले एकीकृत समाजवादीमा आवद्ध हुन विभिन्न सर्तसहित पठाएको प्रस्तावबारे एकीकृत समाजवादी सकारात्मक रहेको भन्दै तत्काल पार्टीमा जोडिन जवाफ पठाएको हो ।
भुसालको प्रस्ताव र ०७७ चैतमा सम्पन्न एकीकृत समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको प्रतिबद्धता अनुरुप रहेको बताउँदै उनलाई पार्टीमा आबद्ध भएर कम्युनिस्ट आन्दोलनलाई रुपान्तरण गर्ने अभियानमा लाग्न अनुरोध गरेको हो ।
बिहीबार एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले लेखेको पत्रमा भनिएको छ, ‘पार्टी निर्माणसम्बन्धी तपाईँले राख्नु भएको धारणा उक्त प्रतिबद्धता अनुरुप नै छन् । त्यसैले अब तपाईँ अब छिटोभन्दा छिटो नेकपा एकीकृत समाजवादीमा आबद्ध भएर नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुुरोध छ।’
भुुसाललाई पठाइएको जवाफी पत्रमा नेकपा एमाले र माओवादी केन्द्रको एकताले समाजवादी शान्तिका लागि तयार गरेको आधार संसद विघटन र नेकपाको विभाजनले भत्काएको उल्लेख गरिएको छ । नेकपाको विभजानपछि एमाले र माओवादी केन्द्र दुबै राजनीतिक, वैचारिक र कार्यदिशाको सवालमा पछाडि फर्केपनि एकीकृत समाजवादी नेकपाकै बिन्दुमा रहेको पत्रमार्फत बताइएको छ ।
एकीकृत समाजवादीले कुनैदिन नेपालको कम्युनिस्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले नेकपा एकीकृत समाजवादीमा कायम रहेको सैद्धान्तिक बिन्दुमा नफर्की सुखै छैन भन्ने भुसालको विश्लेषण र पार्टीको विश्लेषण मिलेको पनि उल्लेख गरेको छ ।











