Kathmandu Press

बागमतीको सभामुखमा तीन जनाको प्रतिस्पर्धा

बाग्मतीकाे सभामुखका लागि नेपाली कांग्रेसका सांसद शिवराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक र नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले मनोनयन दर्ता गराएका छन् ।
बागमतीको सभामुखमा तीन जनाको प्रतिस्पर्धा

काठमाडौं, पुस २८ : बाग्मती प्रदेशको सभामुख पदका लागि तीन सांसदले मनोनयन दर्ता गराएका छन् । सभामुखका लागि बिहीबार बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । 

निर्धारित समयमा नेपाली कांग्रेसका सांसद शिवराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक र नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेसका उम्मेदवार अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार छन् । 

राप्रपाका भुवन पाठकलाई गठबन्धनको समर्थन छ । एमाले, माओवादी केन्द्र, राप्रपा लगायतको सात दलीय गठबन्धनको भागबन्डामा बाग्मतीको सभामुख राप्रपाले पाएको थियो । सोही सहमति अनुसार पाठकले सभामुखमा मनोनयन दर्ता गराएका हुन् । 

उनको प्रस्तावकमा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया र माओवादी केन्द्रका सांसद युवराज दुलालले समर्थन गरेका छन् ।

३ जना मात्र सांसद नेमकिपाले सायजुलाई उम्मेदवार बनाएको हो ।  नेमकिपाका सांसद सुरेन्द्रराज गोसाइँ सायजुको प्रस्तावक र गीता काफ्ले समर्थक बसेकी छिन् ।

बागमती प्रदेशमा सत्ता साझेदार पाँच दलसँग ७० सांसद छन् । सबैभन्दा  ठूलो दल नेपाली कांग्रेसका ३७ सांसद छन् भने नेमकिपाका ३ सांसद छन् । 

 

प्रकाशित मिति: १४:२८ बजे, बिहीबार, पुस २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्