Kathmandu Press

बेघर भएका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई निःशुल्क आश्रय दिन ‘सम्मान गृह’  

ब्लू डायमन्ड साेसाइटीले सञ्चालन गरेकाे सम्मान गृहमा उपचारका क्रममा विभिन्न ठाउँबाट काठमाडौं आउने यौनिक तथा लैंगिक अल्पसंख्यकपनि निःशुल्क बस्न पाउँछन् ।
बेघर भएका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई निःशुल्क आश्रय दिन ‘सम्मान गृह’  

काठमाडौं मंसिर २५ : अपमानित भएर घरबाट निकालिए वा समाजबाट बहिष्कृत भए कहाँ जाने? सामान्य मानिस त जहाँसुकै गएर बस्छन् र सुखदुख गरेर जीवन निर्वाह गर्छन् तर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको व्यक्तिलाई भने त्यस्तो अवसर विरलै मिल्छ। जसले गर्दा उनीहरूको जीवन टिठलाग्दो बन्ने आकलन गर्न कुनै कठिनाइ पर्दैन। 

परिवार, आफन्त, समाजबाट अपमानित भएर बेघर भएका अल्पसंख्यक समुदायका व्यक्ति हाम्रो वरपर बग्रेल्ती भेटिन्छन्। त्यस्ता व्यक्तिको केही समयको संरक्षणका लागि ‘सम्मान गृह’ले सघाउँदैे आएको छ। ब्लु डाइमन्ड सोसाइटीले सम्मान गृह सञ्चालनमा ल्याएको अध्यक्ष शीतल (पिंकी) गुरुङ बताउँछिन् । 

‘घरपरिवारबाट अपमानित भएर आश्रयविहीन बन्नुपरेका, खानेकुरा नभेट्टाएर कहालीलाग्दो जीवन बाँच्न विवश हुनुपरेका घटना नौला होइनन्,’ अध्यक्ष गुरुङ भन्छिन्, ‘अपमानित भएर बिजोग अवस्थामा पुगेका व्यक्तिलाई सम्मान गृहमा केही समय बस्ने व्यवस्था गर्दै आएका छौं।’ 

Hardik ivf

उनका अनुसार सेभ द चिल्ड्रेनको सहयोगमा ‘सम्मान गृह’ बनाइएको हो। देशभरका नौ जिल्लामा सम्मान गृह रहेका छन्। ‘बेघर भएका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राहत महसुस गराउन सम्मान गृहमा निःशुल्क बस्ने व्यवस्था गरेका हौं,’ उनले भनिन्, ‘बेघर भएका मात्र नभई उपचारका क्रममा विभिन्न ठाउँबाट काठमाडौं आउनेले पनि निःशुल्क बस्न पाउँछन्।’ 

 

samman griha1673510545.jpgपोखरा, भैरहवा, इटहरी, नेपालगन्ज, वीरगन्ज, जनकपुर, काठमाडौं, चितवन र धनगढीमा २०७८ चैत १ मा एकैसाथ सम्मान गृह सञ्चालनमा ल्याइएको अध्यक्ष गुरुङले जानकारी दिइन्। यी सबै ठाउँमा घर भाडामा लिएर सेवा प्रदान गरिएको उनको भनाइ छ। ‘घर भाडादेखि खाने, बस्ने सबै खर्च सेभ द चिल्ड्रेन नामक संस्थाले बेहोरेको छ,’ उनले भने, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले धेरैभन्दा धेरै पीडा र अपहेलना सहनुपर्छ।’ 

केही महिनाअघि एक होटलमा काम गरिरहेका दुई ‘ट्रान्सजेन्डर वुमन’लाई ‘ट्रान्सजेन्डर’ भएकै कारण सञ्चालकले निकालिदिएको र सम्मान गृहले संरक्षण गरेको अध्यक्ष गुरुङले सुनाइन्। ‘यौनिक तथा लैंगिक अल्पसंख्यक हुनेबित्तिकै घर, परिवार, समाज कसैले स्वीकार गर्दैनन्,’ उनी भन्छिन्, ‘यौनिक तथा लैंगिक अल्पसंख्यकको जाने ठाउँ कहीँ हुन्न, त्यसैले आपतकालीन समयमा उनीहरूलाई राख्न सम्मान गृह निर्माण गरिएको हो।’

उनका अनुसार सम्मान गृहमा अल्पसंख्यकले आत्मसम्मानका साथ आफ्नै घर सम्झेर बस्न पाउँछन्। ‘उनीहरूको अन्य कतै विकल्प नहुन्जेल बस्न पाउँछन्, उपचारका लागि आउनेले काम हुने अवधिसम्म बस्न पाउँछन्,’ उनले भनिन्, ‘गत महिना मात्र एक वर्षसम्म बसेर एक जोडी घर फर्किए, उक्त जोडीलाई सोसाइटीको लाजिम्पाटस्थित कार्यालयमै राखेका थियौं।’

सम्मान गृह सञ्चालन गरेको सात महिना अवधिमा प्रत्येक गृहमा ८०÷९० जनाले सेवासुविधा लिएका छन्। अन्य जिल्लाको तुलनामा काठमाडौंमा धेरैजनाले सम्मान गृहको सैवा लिन्छन्। काठमाडौंमा चावहिलस्थित हाडीगाउँमा सम्मान गृह छ। उपचारका क्रममा काठमाडौं आउँदा होटलमा बस्न नपाउने र आर्थिक अवस्था कमजोर भएका अल्पसंख्यकहरू त्यहाँ बस्ने गरेको उनी बताउँछिन्।

उपत्यकामा मात्र ३९ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको उनको अनुमान छ। ‘घरविहीन भएपछि विभिन्न संस्थाको सहारा खोज्दै काठमाडौं भित्रिने गरेकाले त्यस्तो व्यक्तिको संख्या काठमाडौंमा धेरै पुगेको हो,’ उनले भनिन्। 
लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स र क्वेसनिङ गरी लैंगिक तथा यौनिक अल्पसंख्यकका ६ प्रकार छन्। महिला–महिलाबीच आकर्षित हुनेलाई लेस्बियन, पुरुष–पुरुषबीच आकर्षित हुनेलाई गे, महिला र पुरुष दुवैसँग आकर्षित हुनेलाई बाइसेक्सुअल, जन्मँदाको लिंग परिवर्तन गर्नेलाई ट्रान्सजेन्डर, महिला या पुरुष भन्न नसकिनेलाई इन्टरसेक्स तथा यौनिक व्यवहारबारे आफैं प्रश्न गरिरहेकालाई क्वेसनिङ भन्ने गरिएको अध्यक्ष गुरुङ बताउँछिन्।

‘कतिपयले आफ्नो पहिचान लुकाएर बाध्यताको जिन्दगी जिइरहेका छन्,’ उनले काठमाडौं प्रेससँग भनिन्, ‘वास्तविक खुलाउँदा समाजले स्वीकार नगर्ने भएकाले धेरैले आफ्नो पहिचान लुकाउन बाध्य छौं ।’ देशभर जम्मा जनसंख्याको ८/१० प्रतिशत मानिस यौनिक तथा लैंगिक अल्पसंख्यामा पर्ने गरेका भनाइ छ। नेपालमा २०७८ को जनगणनामा यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्यांक आउने अपेक्षा थियो तर केन्द्रीय तथ्यांक विभागले अल्पसंख्यकको तथ्यांक सार्वजनिक गरेको छैन।

केन्द्रीय तथ्यांक विभागले जानीजानी तथ्यांक सार्वजनिक नगरेको उनको आरोप छ। ‘तथ्यांक सार्वजनिक गरेपछि सेवासुविधा दिनुपर्छ भनेर त्यसो गरिएको हो,’ अध्यक्ष गुरुङले आक्रोशित हुँदै भनिन्, ‘तथ्यांक विभागलाई सोधे जहिले ७/८ महिनापछि आउँछ भन्दै टारिदिनुहुन्छ।’ 

केन्द्रीय तथ्यांक विभागले माघ २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिसकेको छ। प्रारम्भिक नतिजा सार्वजनिक गरेको एक वर्ष पुग्न लाग्दा पनि अल्पसंख्यकको संख्या सार्वजनिक गरेको छैन। 

पुसको अन्तिममा जनगणनाको विस्तृत नतिजा सार्वजनिक गर्ने केन्द्रीय तथ्यांक विभागले तयारी गरेको छ। ‘यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्यांक सार्वजनिक हुन्छ कि हुँदैन भन्न सक्ने अवस्था छैन,’ केन्द्रीय तथ्यांक विभागका प्रवक्ता मनोहर घिमिरे भन्छन्, ‘विस्तृत रिपोर्टमा समेट्ने कोसिस गरेका छौं। अल्पसंख्यकको तथ्यांक आउँछ कि आउँदैन भन्न सकिँदैन।’

pimky gurung1673510545.jpg
ब्लू डायमन्ड साेसाइटीकी अध्यक्ष पिंकी गुरूङ

देशभर करिब १० लाखभन्दा बढी लैंगिक अल्पसंख्यक भएको अनुमान गरिन्छ तर अहिलेसम्म वास्तविक तथ्यांक छैन। धेरैजसो यौनिक तथा लैंगिक अल्पसंख्यक समाजको डरले आफ्नो पहिचान खुलाउन नसकेको अध्यक्ष गुरुङको तर्क छ। 

सर्लाहीका १८ वर्षीय मोहन (नाम परिवर्तन) परिवारबाट भागेर एक वर्षअघि काठमाडौं आएका थिए। उनी आफू ट्रान्सजेन्डर भएको थाहा भएपछि घरबाट भागेका हुन्। साथीहरूमार्फत ब्लु डाइमन्ड सोसाइटीमा आइपुगेका उनलाई आरक्षण दिइएको अध्यक्ष पिंकी बताउँछिन्। ‘उनको परिवारले गौशाला प्रहरी कार्यालयमा उजुरी गरेपछि परिवारलाई बोलाएर छलफल गरी मोहनलाई घर पठाएका थियौं,’ अध्यक्ष गुरुङले भनिन्, ‘उक्त युवकलाई परिवारले जबर्जस्ती विवाह गरिदिए र मोहन पुनः भागेर काठमाडौं आए, उक्त युवकलाई हामीले सम्झायौं, मानेनन् र यौन श्रममा लागे।’ 

उनले अहिले आफ्नो पहिचान खुलाएर जिउन थालेका छन्। यौन श्रममा नलागी परिवार सम्हाल्नतिर लाग्न सुझाए पनि उनले टेरेनन्। ‘यौनिक तथा लैंगिक अल्पसंख्यक खुलेर बाँच्न चाहन्छन् तर हाम्रो समाजमा त्यो वातावरण छैन,’ उनले भनिन्, ‘सबै यौनिक तथा अल्पसंख्यक यौन श्रममा लाग्दैनन्, त्यस्तो कार्यमा थोरै प्रतिशत मात्र समावेश हुने गरेको छ।’ 

किन रोज्छन् यौन श्रम? 

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई कतै रोजगारी दिइँदैन। उनीहरूलाई मानवीय व्यवहार पनि गरिँदैन। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई परिवार, समाजले स्वीकार गर्दैनन्। ती व्यक्तिले आफ्नो गुजारा चलाउन यौन श्रम रोज्न समाजले नै बाध्य बनाएको अध्यक्ष गुरुङ बताउँछिन्। ‘कतै काम पाउँदैनन्, अन्य विकल्प केही हुन्न,’ उनले भनिन्, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक हुनासाथ भुइँ सफा गर्ने कामसमेत पाउँदैनन्।’

उनीहरूको स्वरूप महिला–पुरुषको जस्तो हुँदैन। त्यसैले उनीहरूले पढ्न पनि पाउँदैनन्। पढ्न विद्यालय गए पनि साथीहरू, शिक्षकहरूबाटै अपहेलनाको सिकार बन्नुपर्छ। अपमान सहन नसकेर उनीहरू विद्यालय जानबाट विमुख बन्छन्। त्यस्तो अवस्था समाजले नै सिर्जना गरेको अध्यक्ष गुरुङको भनाइ छ।

‘लिंग फरक हुनासाथ फरक व्यवहार गर्ने हाम्रो समाजले नै यौन श्रम गर्न बाध्य बनाएको हो,’ उनले भनिन्, ‘कतिपयले आत्महत्या गर्छन् भने कतिजना विभिन्न संस्थाको सहयोगमा जसोतसो गुजारा चलाइरहेका भेटिन्छन्।’ 

यौन श्रम गर्ने यौनिक तथा लैंगिक अल्पसंख्यक मात्र नभई धेरैलाई एचआइभी÷एड्स हुने गरेको छ। ब्लु डायमन्ड सोसाइटीले स्वास्थ्य परीक्षणका लागि देशभर २५ स्थानमा क्लिनिक सञ्चालन गरेको छ। ती क्लिनिकमा प्रत्येक महिना ८÷१० जना एचआइभी एड्सका बिरामी भेटिन्छन्। ‘उपत्यकामा गत नोभेम्बरमा मात्र करिब २५ जना एचआइभी संक्रमित भेटिएका हुन्,’ उनले भनिन्, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक मात्र नभई अन्य व्यक्तिलाई पनि जाँच गरेका थियौं। त्यसैले धेरै संक्रमित भेटिएका हुन्।’ 

धेरैजसो यौन श्रम गर्ने व्यक्तिले दैनिक एआरटी सेवा लिइरहेका हुन्छन्। उक्त औषधि सेवनले रोगीलाई सर्न नदिने र संक्रमितलाई मर्न नदिने उनको भनाइ छ। ‘यौनिक तथा लैंगिक अल्पसंख्यक मात्र नभई अन्य व्यक्तिलाई पनि एचआइभी एड्स हुने गरेको छ,’ अध्यक्ष गुरुङले भनिन्, ‘एचआइभी एड्स भएका व्यक्तिलाई निःशुल्क औषधोपचार गरिदिएका छौं।’

१८ वर्षभन्दा कम उमेरका व्यक्तिमा समेत एचआइभी एड्स संक्रमण भेटिएको छ। सरकारले एचआइभी एड्सबाट बच्न कन्डम निशुल्क वितरण गरे पनि धेरैले प्रयोग गर्दैनन्। त्यसैले संक्रमित हुने गरेको उनको बुझाइ छ। ‘विगत एक वर्षदेखि भने धेरैजसो यौन श्रमकर्मीले एआरटी सेवा लिइरहेको पाइन्छ, यसले एचआइभी एड्स सर्न र बढ्न दिँदैन,’ उनले भनिन्, ‘संक्रमित र यौन श्रमकर्मीले दैनिक सेवन गर्नुपर्छ।’

rahat1673510545.jpg
यौनिक तथा लैंगिक अल्पसंख्यकलाई खाद्यान्न वितरण

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई गुजारा चलाउन विभिन्न संस्थाको सहयोगमा खाद्यान्न प्रदान गरिरहेको सोसाइटीकी अध्यक्ष गुरुङ बताउँछिन्। ‘पछिल्लो समय ५१५ जनालाई एक महिना पुग्ने खाद्यान्न वितरण ग¥यौं,’ उनले भनिन्, ‘सेभ द चिल्ड्रेनको सहयोगमा खाद्यान्न वितरण गरेका हौं।’
 

प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, पुस २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्