बाग्मतीको सभामुखका लागि शिवराज अधिकारी र भुवन पाठकको उम्मेदवारी
बाग्मतीको सभामुखका लागि कांग्रेसबाट शिवराज अधिकारी र राप्रपाबाट भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।
काठमाडौं, पुस २७ : बाग्मती प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसले शिवराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । धादिङको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट समानुपातिक तर्फबाट निर्वाचित अधिकारीलाई कांग्रेसले प्रदेश सभाको सभामुखको उम्मेदवार बनाउने भएको हो ।
सभामुखका लागि आज बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्मको मनोनयन दर्ताको समय तोकिएको छ ।
सभामुख पदका लागि सत्तारुढ गठबन्धनबाट राप्रपाले भुवन पाठकलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सत्ता गठबन्धनको केन्द्रले गरेको सहमति अनुसार मुख्यमन्त्री माओवादी केन्द्र र एमालेले आलोपालो पाउने र सभामुख राप्रपालाई दिने सहमति भएको थियो ।
बाग्मतिमा सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ र नेमकिपाका ३ सांसद छन् ।
प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काका अनुसार मनोनयन दर्ता सकिएपछि दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्मका लागि मनोनयन फिर्ताको समय तोकिएको छ । यसैगरी दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
सभामुखको निर्वाचन कार्यक्रम शुक्रबार बिहान ११ बजेका लागि प्रदेश सभा हलमा राखिएको प्रदेश सभा सचिवालयका सचिव खड्काले जानकारी दिए ।











