५८ सांसदको समर्थनसहित लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त
बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मूख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
काठमाडौं, पुस २७ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् ।
बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मूख्यमन्त्रीमा नियुक्त गरेका हुन् । त्यसअघि एमाले–नेकपा माओवादी केन्द्रको गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित बुधबार नै प्रदेश प्रमुख शेरचन समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका थिए।
प्रदेश प्रमुख शेरचनले बिभिन्न आठ दलका ५८ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी गरेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिए। उनले मुख्यमन्त्रीमा नियुक्त भएकामा गिरीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिए।
त्यस्तै मुख्यमन्त्रीमा नियुक्त भएपछि गिरीले प्रदेशका आवश्यकतालाई अघि बढाउन र नागरिकका जिवनस्तर राजनीतिक परिवर्तनबाट सम्बोधन हुनुपर्छ भन्ने सोचका साथ जिम्मेवारी अघि बढाउने बताए । आफुलाई समर्थन गरेका र समर्थन बाहिर रहेका दलहरुलाई एकसाथ लिएर प्रदेश सरकारको दायित्व पुरा गर्ने उनको भनाई छ। मुख्यमन्त्री गिरीले देउखुरीमा राजधानीलाई व्यवस्थीत गर्ने र प्रदेशलाई समृद्ध बनाउने काम नै मुख्य हुने भन्दै मन्त्रीमण्डलको आकार सानो बनाउने सोचमा रहेको धारणा राखे।
गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन रहेको छ । गिरीले बिहीबार पद तथा गोपनियताको सपथ लिने बताइएको छ ।











