Kathmandu Press

अर्थतन्त्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ : प्रधानमन्त्री

अर्थतन्त्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ : प्रधानमन्त्री

गोरखा, पुस २७ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–नीजि क्षेत्रको सहकार्य अनिवार्य रहेकोमा जोड दिएका हुन्। 

प्रधानमन्त्री भएपछि क्याबिनेटको पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायका बारेमा गम्भीर छलफल भएको बताउँदै उनले अर्थतन्त्रको विकासका लागि नीजि क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताए। आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभूति,  सुशासन र समृद्धि हासिल गर्न सम्मानित संसदमा समेत प्रतिबद्धता व्यक्त गरेको पनि बताए। 

गोरखाका जनताले दिएको मतले प्रधानमन्त्री बन्न सफल भएकोमा आभार व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले चुनावी प्रतिबद्धताअनुरूप जिल्लाको विकासका लागि प्रतिबद्ध रहनेसमेत बताए।

 कृषिको आधुनिकीकरण, भौतिक पूर्वाधारको विकास, पर्यटन, कला संस्कृतिको संरक्षण, साना घरेलु उद्योगको प्रवद्र्धन र ठूला उद्योग निर्माण र बुढीगण्डकी जलविद्युत आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक, पालुङटार विमानस्थललगायतका ठूला आयोजना अघि बढाउँदै रोजगारी सिर्जनामार्फत गोरखा जिल्लालाई सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने प्रतिबद्धता पूरा गर्न आफू लागिपर्ने उनको भनाइ थियो। 

सिंगो संसदको विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएको बताउँदै उनले संसदमा प्राप्त विश्वासले नेपाल राष्ट्रको नेपाली जनताको र गोर्खाली जनताको समेत सम्मान भएको उल्लेख गरे । 

प्रकाशित मिति: १५:५८ बजे, बुधबार, पुस २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्