Kathmandu Press

राष्ट्रपति भण्डारीद्वारा काजी पाँडेको सालिकमा माल्यार्पण

राष्ट्रपति भण्डारीद्वारा काजी पाँडेको सालिकमा माल्यार्पण

काठमाडौं, पुस २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको दहचोकस्थित समाधिस्थल र सालिकमा माल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारी ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी दहचोक पुगेकी हुन् । 

 राष्ट्रपति भण्डारीले त्यहाँस्थित मनकामना मन्दिरमा दर्शन पनि गरेकी थिइन् । तत्कालीन गोर्खाली सेनाले राजधानीमा आक्रमण गर्नुअघि त्यो मन्दिर बनाइएको जनाइएको छ । काजी पाँडे पृथ्वीनारायण शाहका सेनापति थिए। नेपाल एकीकरणमा सेनापति पाँडेले गरेको योगदानको कदर गर्दै दहचोकस्थित उनको समाधिस्थलमा सालिक निर्माण गरिएको छ । 

राष्ट्रपति भण्डारीले सोही सालिकमा माल्यार्पण गरेकी हुन् । विसं १८१४ मा कीर्तिपुरमा भएको लडाइँमा काजी पाँडेले वीरगति प्राप्त गरेका थिए । सो युद्धमा गोर्खाली सेनाका धेरै सैनिक पनि मारिएका थिए । सेनापती पाँडेको निधनपछि उनकै इच्छा अनुसार उनलाई गोरखा देखिने दहचोकमा सद्गत् गरिएको थियो।

प्रकाशित मिति: १५:३५ बजे, बुधबार, पुस २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्