सुदूरपश्चिम प्रदेशको सभामुखका लागि रावल र भण्डारीको उम्मेदवारी
कांग्रेसले ज्येष्ठ सदस्य समेत रहेका मानबहादुर रावललाई उम्मेदवार बनाउँदा माओवादी केन्द्रबाट भीम भण्डारीले सभामुखमा उम्मेदवारी दिएका छन् ।
काठमाडौं, पुस २७ : सुदूरपश्चिम प्रदेश सभाको सभामुख पदका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारी दिएको छ । भोलि हुने निर्वाचनका लागि कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारीले उम्मेदवारी दिएका हुन् ।
प्रदेश सभाका ज्येष्ठ सदस्य समेत रहेका रावलको प्रस्तावकमा पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का रहेका छन् । त्यस्तै भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच माओवादीले सुदूरपश्चिमको सभामुख लिने सहमति भएको छ। सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र एकजना स्वतन्त्र सांसद छन् ।












